१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

भारतले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुनियो : मन्त्री बडू



दार्चुला, २९ पुस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुन्नमा आएको नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन् । प्रेस युनियन दार्चुलाले बिहीबार दार्चुला सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले भारतलाई ध्यानाकर्षण गराएको मन्त्री बडूले बताए । ‘नरेन्द्र मोदी ज्यूले मानसरोवर जाने बाटो लिपुलेकमा बनाएको भन्ने सुनियो, यसमा मानसरोवर यात्राको प्रसङ्ग जोडिएको छ, प्रसङ्ग जे भएपनि त्यो हाम्रो भूमि हो’ मन्त्री बडूले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ गते उत्तराखण्ड राज्यको नैनीताल जिल्लाको हल्द्वानी शहरमा आयोजित कार्यक्रममा लिपुलेकमा भारत सरकारले सडक बिस्तारको काम गरिरहेको अभिव्यक्ति दिएका थिए । यस विषयमा नेपाल सरकारले हाल सम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैन ।

कालापानीमा सडक कालोपत्रे हुँदै

भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठन (विआरओ)ले कालापानीमा सडक कालोपत्रेको काम गरिरहेको छ । भारतीय पत्रिका हिन्दुस्तानका अनुसार नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि अतिक्रमित नेपाली भूमिमा गुञ्जीमा सडक कालोपत्रे कार्य सुरु गरिएको छ ।

अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी र नाभी गाउँ जोड्ने सडक खण्डमा प्रथम चरणमा कालोपत्रे गरिन लागेको समाचारमा उल्लेख छ । अतिक्रमित नेपाली भूमिमा गुञ्जीदेखि कालापानी हुदै नाभीढाँगसम्म २२ किलोमिटर सडक लिपुखोलाको किनारैकिनार बनाइएको छ । लिपुलेक भञ्ज्याङबाट कालापानी हुँदै बग्दै आएको लिपुखोला गुञ्जी दोभानमा वास्तविक महाकाली (कुटी नदी)मा मिसिन्छ ।

भारतले आफैंले निर्धारण गरेको नक्कली महाकाली (लिपुखोला)को सीमा समेत मिचेर कालापानीमा लिपुखोलाभन्दा पूर्व समेत अतिक्रमण गरी सुरक्षा क्याम्प राखेको छ ।

गुञ्जी दोभानबाट दक्षिण–पूर्वतर्फ रहेको महाकालीको मुहान लिम्पियाधुरासम्म पुग्ने अर्को सडक पनि भारतले बनाएको छ । कुटी नदी (महाकाली)को किनारैकिनार २९ किलोमिटर सडक बनाइएको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी, नाभी र कुटी तिनवटै गाउँ जोड्ने गरी यो सडक बनाइएको छ । गुञ्जीदेखि नाभीसम्मको दूरी ४ किलोमिटर र कुटीसम्मको दूरी १७ किलोमिटर छ । सडक कालोपत्रको सुरुवाती यसै सडक खण्डमा गरिएको हो । अन्तिम गाउँ कुटीभन्दा १२ किलोमिटर अगाडि जोलिङकाङक्षेत्रसम्म कच्ची सडकको ट्रयाक खुलाइएको छ । कुटी, नाभी र गुञ्जीमा स्थानीयको वसोवास भए पनि कालापानी, नाभीढाँग र जोलिङकाङमा सुरक्षा क्याम्प राखिएको छ ।

अत्यधिक चिसो मौसममा पनि सडक कालोपत्रेको काम सीमा सडक संगठनले गरिरहेको छ । मौसम खुलेको र घाम उदाएको बेला दैनिक ४ देखि ५ घण्टा कालोपत्रेको काम भइरहेको भारतीय सेनाको सडक निर्माण कम्पनी विआरओलाई उधृत गर्दै हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । वर्षा र हिमपातले सडक कालोपत्रेको काम चुनौतीपूर्ण भए पनि निर्माण कार्य निरन्तर भइरहेको जनाइएको छ ।

हिउँदमा पनि सडक कालोपत्रेको काम निरन्तर गरिराख्न भारतको विहार राज्यका सयौं मजदूर परिचालन गरिएका छन् । मजदूर टोलीहरुलाई आवाश र भोजनको सुविधा दिइएको छ भने दैनिक ८ सयदेखि १ हजार भारुसम्म ज्याला दिइएको छ ।

यसअघि कच्ची सडकको ट्रयाक खुलाउदासम्म नेपाली मजदूरहरुबाट समेत काम गराइन्थ्यो । दुई वर्षअघि सडक उद्घाटन र नक्सा विवाद भएपछि नेपाली मजदूरलाई त्यसक्षेत्रमा जान दिइएको छैन ।


प्रतिक्रिया दिनुहोस !