१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नारायणकाजी श्रेष्ठ र मातृका यादवको गुटबन्दीले मधेसमा पाँचौ शक्तिमा खुम्चियो माओवादी !



वीरगन्ज । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा मधेस प्रदेशको पराजयको गम्भीर समीक्षा गर्ने भएको छ । मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको नेकपा माओवादी केन्द्र यस पटक स्थानीय तहको निर्वाचनमा मधेसमै कमजोर देखिएको छ । गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख/अध्यक्ष र ९ वटामा उपप्रमुख/उपाध्यक्ष मात्रै जितेको छ ।

२०७४ सालको निर्वाचनमा माओवादीले मधेसबाट २१ स्थानीय तह जितेको थियो । पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशमा एमालेले २३ स्थानीय तह, नेपाली काँग्रेसले ४४ स्थानीय तह, जनता समाजवादी पार्टीले २४ स्थानीय तह, लोकतान्त्रिक समाजवादी पार्टीले १२ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा जितेको छ ।

यो प्रदेशका अझै १६ स्थानीय तहको मतगणना जारी छ । पछिल्लो मत गणना अनुसार माओवादी मधेस प्रदेशमा पाँचौँ दलमा सीमित देखिन्छ । पार्टी पराजयकाबारे प्रदेश समिति र केन्द्रीय समितिमा समीक्षा गरिने माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले बताए ।

मधेसमा माओवादी कमजोर हुनुमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गुट र नेता मातृका यादव गुटबीचको टकराव पनि मुख्य कारण बनेको जानकारहरु बताउँछन् । नारायणकाजी र मातृका गुट एकले अर्कोलाई सिध्याउन लागेकाले पनि माओवादी कमजोर भइरहेको एक नेताले बताए ।

प्रदेश पदाधिकारीदेखि जिल्ला र पालिकामा कुन पक्षको नेतृत्वमा ल्याउने भन्नेमा विवाद हुँदा पार्टी फैलिन नसकेको ती नेताले बताए । ती दुई गुटलाई पनि अध्यक्ष प्रचण्डले समयमै सल्टाउन नसक्दा स्थानीय चुनावमा माओवादी केन्द्र मधेसमा पाँचौँ स्थानमा झर्न पुगेको छ । तर, साहले त्यसलाई गुटबन्दीभन्दा पनि पार्टीभित्रको सङ्घर्ष मुख्य कारक भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !