१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

एकैपटक चार लाख शुल्क बढाइएपछि चक्रवर्ती कलेजमा आन्दोलन, तोडफोड गरेको आरोपमा ३ विद्यार्थी नेता पक्राउ



काठमाडौं । शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलनका कारण विजुलीबजारस्थित चक्रवर्ती ल कलेजमा बिहानैबाट तनावग्रस्त बनेको छ ।

कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थी आन्दोलित बनेका हुन् । नेविसंघ र अखिलले संयुक्तरूपमा गरेको आन्दोलनका कारण कलेजमा तीन दिनदेखि पठकपाठन हुन सकेको छैन ।

आन्दोलित विद्यार्थीले गत आइतबार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । हिजो सोमबार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तामा कलेजले ५० हजार मात्रै शुल्क घटाउन तयार रहेको बताएपछि सहमति हुन सकेन ।

माग पूरा गराउन दबाब दिँदै आज पनि विद्यार्थीले कलेजको एकाउन्ट सेक्सनमा तालाबन्दी गरे । तर, कलेज प्रशासनले प्रहरी बोलाएर ताला फोडेको थियो । त्यसको विरोधमा विद्यार्थी थप आन्दोलित बनेका छन् । आक्रोशित विद्यार्थीले क्याम्पसमा सामान्य तोडफोडसमेत गरेका थिए । आन्दोलन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ । त्यसक्रममा आधादर्जन विद्यार्थी घाइते भएका छन् ।

प्रहरीले कलेजका तीन विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल अध्यक्ष नरेशसिंह धामी, नेविसंघका सचिव राजेन्द्र रोकाया र सुरज रेग्मी छन् ।

यसैबीच कलेजमा तस्बिर खिच्न गएका नेपाल प्रेसका फोटोपत्रकारलाई सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन् । उनले कलेजमा फोटो खिच्न रोक लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !