१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

चक्रवर्ती कलेजमा विद्यार्थी संगठनहरूद्वारा व्यापक तोडफोड



काठमाडौं । शुल्कवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनरत विद्यार्थी चक्रवर्ती ल क्याम्पसमा विद्यार्थी संगठनहरुले उपद्रो मच्चाएका गरेका छन् । उनीहरूले गरेको तोडफोडबाट कम्तीमा पनि ७-८ लाखको क्षति भएको कलेजले जनाएको छ ।

पाँच वर्षे बीएएलएलबीको शुल्क एकैपटक साढे तीन लाख रूपैयाँ बढाइएपछि विद्यार्थी संगठनहरूले केही दिनदेखि संयुक्त आन्दोलन गरिरहेका थिए । यसक्रममा हिजो नेविसंघ, अखिल र अखिल क्रान्तिकारीका विद्यार्थीहरूले कलेजमा तोडफोड गरेका हुन् । कलेजका अधिकांश झ्यालका सिसा फुटेका छन् भने गमलाहरू खसाइएको छ । कलेजको बाहिरपट्टि राखिएको एक्वेरियम ध्वस्त तुल्याइएको छ । कलेजको व्यानर पनि च्यातचुत पारिएको छ ।

विद्यार्थी संगठनका अगुवाहरूले कलेजमा ताला लगाउन खोज्दा कर्मचारीले रोकेका थिए । त्यही झोकमा विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन् । नेविसंघका विद्यार्थीहरूले तोडफोडको अगुवाइ गरेका थिए ।

यस विषयमा थप बुझ्नका लागि कलेजकी सहायक प्रमुख विमला हुमागाईँले केही बोल्न चाहिनन् ।

‘म अहिले प्रेसरमा छु, बोल्न सक्ने अवस्था नै छैन,’ उनले भनिन् ।

नेविसंघका इकाइ अध्यक्ष अभिनवसिंह राठोरले आफू अस्पतालमा उपचाररत रहेकाले घटनाबारे जानकारी नरहेको बताए । उनी कलेजमा आन्दोलनकै क्रममा घाइते भएका थिए ।

आज पनि विद्यार्थीहरूले आन्दोलन जारी राख्ने भएका छन् । आजको आन्दोलन भने शान्तिपूर्ण हुने उनीहरूको भनाइ छ । आजै उनीहरूले पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।

कलेजले विद्यार्थीहरूलाई वार्ताका लागि औपचारिक आह्वान गरेको छैन । यसअघि गत सोमबार भएको वार्तामा सहमति हुन सकेको थिएन । कलेजले ५० हजार रूपैयाँ मात्रै शुल्क घटाउन सक्ने अडान लिएको थियो । विद्यार्थीहरू भने पूर्ववत शुल्क कायम गर्नुपर्ने बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !