१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दार्चुलाको अपिहिमाल गाउँपालिकामा पाँच दिन विद्यालय बन्द



दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिनका लागि पठनपाठन बन्द गरिएको छ । साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकले पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

खण्डेश्वरी माविमा अध्ययनरत छात्रामा पाँच/छ दिनदेखि एक्कासि छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भीडभाडदेखि डराउनेजस्ता लक्षण देखिएको छ । विद्यार्थीमा यस्तो समस्या देखिएपछि साउन १३ गतेदेखि १७ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तो समस्या गाउँघरमा पनि देखापरेमा एकान्तमा बस्नुहुन तथा धेरै भीडभाड र घुलमिल हुने ठाउँमा आफ्ना नानीबाबुलाई नपठाउनसमेत अभिभावकलाई आग्रह गरिएको छ । साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षासमेत अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सार्वजनिक सूचनामार्फत जानकारी गराइएको विद्यालयले जनाएको छ ।

दार्चुलाका विभिन्न विद्यालयमा बेलाबेला यस्तो समस्या देखापर्ने गरेको छ । दुई महिना पहिले लेकम गाउँपालिका–५ स्थित लटिनाथ नमुना मावि चौपातामा छात्रा एक्कासी छटपटिने, रुने, कराउने,

मुर्छा पर्नेजस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको थियो । त्यसपछि विद्यालयमा पूजापाठका साथै छात्राको उपचार गरिएको निमित्त प्राचार्य महेशराज जोशीले बताउनुभयो ।

नौगाडमा कार्यरत शिक्षक जगत चैसिरका अनुसार नौगाडका विभिन्न विद्यालयमा समेत छात्रामा यस्तो समस्या देखिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !