१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दार्चुलाको अपी हिमालमा धार्मिक महत्त्व बोकेको सुर्माभवानी जात्रा शुरु



दार्चुला : जिल्लाको अपी हिमाल गाउँपालिकामा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सुर्माभवानी जात्रा सुरु भएको छ । श्रावण शुक्ल दशमीका दिनबाट सुरु भएको जात्रा सात दिनसम्म चल्छ । अपी हिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङको सुर्मा सरोवरको सीमा सम्म यो जात्रा मनाइने गरिन्छ । उच्च हिमशृखंलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्त्व रहेको स्थानीय बताउँछन । स्थानीय नरहरि ठेकरेका अनुसार सुर्मा भवानी जात्रा अपी हिमाल गाउँपालिका–३ को क्षेत्ती र घाजिर गाउँमा मनाइन्छ ।

श्रावणको स्नानदान औंसीदेखि जात्रा सुरु हुने ठेकरेले बताए । यो औंसीलाई मान्य औंसी भनिन्छ । बालो वीरेहरूले यसै दिनदेखि छुट्टिएर बस्ने चलन छ । उनले मुख्य जात्रा औंसीको एघारौं दिन एवं शुक्ल एकादशीबाट सुरु हुन्छ । सुर्माभवानी जात्रा एघारौं शताब्दीबाट सुरु भएको मानिन्छ । सुर्माभवानीको जात्रा क्षेत्तीबाट सुरु हुँदै घाजिर र सुर्मासरोवरमा पुगी फेरि त्यहाँबाट फर्केर क्षेत्तीमै आएर टुंगिने उनको भनाइ छ ।

‘सुर्मासरोवर हिमालको काखमा छ । सोही सरोवरमा माता सुर्माभवानी विराजमान रहेको जनविश्वास छ,’ ठेकरेले भने, ‘सुर्मासरोवर दार्चुला र बझाङ जिल्लाको सिमानामा ६ हजार ५२३ मिटर उचाइमा पर्छ ।’ सुर्माभवानीको जात्रामा सहभागी व्रतालुलाई चार भागमा विभाजन गर्ने गरिएको छ । स्थानीय रामसिह बोहराका अनुसार जात्रामा सहभागीलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी अर्थात् तीर्थालु भनेर छुट्याइन्छ । जात्रामा सहभागी क्षेत्तीगर्खा पुर्ख्यौली घर भएका, ठेकरे, बोहरा, धामी, वैरे समुदायका यात्रुलाई उवादेशी, घाजिरगर्खाका यात्रुलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुलाई वाइदेशी भनिन्छ ।

जात्रामा पहिलोपटक सहभागी भएकालाई बालोबिरे र दोस्रोपटक सहभागी हुनेलाई बूढोवीरे भन्ने चलन रहेको उनले जानकारी दिए । जात्रामा सहभागी हुनेले निगालोको लौरो बोक्ने चलन समेत छ । सहभागीले श्रुतिमा आधारित भाडीखेल, ढुस्को, जगरम, भलौलो लगायतका गीत गाउने गर्छन । यी श्रुतिमा आधारित सिर्जनामा भगवतीको पूजाअर्चना गरिन्छ । ‘सुर्माभवानीको जात्रामा परम्परागत भेषभूषामा सजिएर जाने र विभिन्न गाथा गाउने गर्छौं,’ स्थानीय जनक ठेकरेले भने, ‘सुर्माभवानीको उपासना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।’


प्रतिक्रिया दिनुहोस !