१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

महोत्तरीका मिटरब्याजी साह पुर्पक्षका लागि जेल चलान



जनकपुरधाम । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि जेल चलान भएको छन् । ठगी तथा अपराधी विश्वासघात मुद्दामा जिल्ला अदालत महोत्तरीलाई उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

मिटरब्याजी पीडितहरुको उजुरीको आधारमा प्रहरीले उनलाई भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले बुधवार उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार मदन प्रसाद जयसवालले जानकारी दिए ।

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले मिटरब्याजीको आरोप लागेका साह अदालतको आदेशबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएको जानकारी दिए । उनका अनुसार साहविरुद्ध हालसम्म १९ जना जाहेरी दिएको छ । पीडितहरुबाट जाहेरी आउनेक्रम अझै जारी छ ।

साह धनुषा र महोत्तरी लगायत जिल्लाका कैयौं व्यक्तिलाई ऋण दिएर चर्को ब्याज उठाउने धन्दामा लामो समयदेखि सक्रिय थिए । उनले ऋण दिएवापत चर्को ब्याज लिने र ऋण तिरिसकेका कैयौं व्यक्तिको कपाली अदालतमा लगाएर घर जग्गा समेत लिलामी गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

एसपी पङ्गेनीका अनुसार साहलाई मात्र ५ विघा पुर्खौली सम्पत्ति थियो । तर ठगी तथा जालसाजी गरेर उनले अहिलेसम्म ९३ विघा जग्गा जोडेको पनि खुलेको छ । २३ विघा जग्गा साहको नाममा छन् भने बाँकी जग्गा आफ्न्तको नाममा लुकाएका छन् ।

साह एकवर्ष अगाडी पनि ठगी आरोपमा पक्राउ परेका थिए । तर अदालतमा १ लाख ५० हजार धरौटी बुझाएर रिहा भएको प्रहरीको भनाई छ । विगतमा ठगीविरुद्ध प्रमाण फेला नपरेको र अहिले ठगीका प्रशस्त आधारहरु फेला परेकोे प्रहरीको दावी छ ।


प्रतिक्रिया दिनुहोस !