१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

दशैंमा घर हिँडेकाहरु घण्टौं जाममा



काठमाडौ । दशैं मनाउन गाउँ फर्किने यात्रुका कारण शनिबार काठमाडौंबाट धेरै सवारी साधन बाहिरिएका छन् । काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उच्च हुँदा काठमाडौंको प्रमुख नाका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा जाम बढेको छ ।

नागढुंगा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार शनिबार काठमाडौंबाट बाहिरिने गाडी अत्याधिक रहेका छन् । ‘नर्मल दिनमा भन्दा आज चार पाँच गुणा बढी गाडीहरु बाहिरिएका छन्, सडक ठप्प त भएको छैन, तर प्रेसर अत्यधिक छ’ उनले भने ।उनका अनुसार शनिबार कार, जिप र मोटरसाइकल पनि अरु दिन भन्दा धेरै बाहिरिएका छन् ।

सडकमा अवरोध कतै छैन, तर सवारी साधनको संख्या धेरै भएकाले नै जाम भएको प्रहरी निरीक्षक सापकोटा बताउँछन् । ‘सुरुङमार्गमा नजिक सडक त्यति राम्रो छैन, खाल्डाखुल्डी छ, उकालोमा कन्टेनरहरु बिग्रिँदा पनि जाम हुन्छ, त्यसैले दिउँसोको समयमा कन्टेनर रोकेका छौं’ उनले भने ।त्यस्तै काठमाडौंबाट पूर्व क्षेत्रमा जाने सडक बीपी राजमार्ग पनि शनिबार विहानभरि जाम भएको थियो । मंगलटार र कटुन्जेको बीचमा दुर्घटना भएका कारण विहानभरि जाम भएको प्रहरी चौकी काभ्रेभञ्ज्याङले जनाएको छ । ‘विहान दुर्घटना भएका कारण जाम भएको हो, अहिले खुलेको छ’ वरिष्ठ हवल्दार उद्धव भण्डारीले भने ।

उनका अनुसार धुलिखेल नगरपालिका–११ पात्लेखेतदेखि रोशी गाउँपालिकाको मंगलटारसम्म करिब ७ किलोमिटर क्षेत्रमा गाडी रोकिएका थिए ।प्रहरीले दुर्घटनामा परेका सवारी साधन हटाएपछि सडक खुलेको थियो । बीपी राजमार्ग हुँदै उपत्यकाबाट बाहिरिने सवारी साधन शुक्रबार भन्दा बढेको छ । शुक्रबार करिब ५०० गाडी बीपी राजमार्ग हुँदै काठमाडौं बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !