१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दसैँको टीका कता फर्केर लगाउने ?



काठमाडौं । आज बडादशैं अर्थात् विजयादशमीको मुख्य दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ।

विजयादशमीका दिन आज बिहान १० बजेर ३४ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि शुभ समयको साइत ११ बजेर ५१मिनेट रहेको उनले बताए।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ। नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन।

विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।लगाइदिने मानिस पश्चिम फर्कंदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन्। चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । त्यसैले चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता र अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिन्छ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !