१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

मुख्यमन्त्रीको सनसनीपूर्ण भिडियो सार्वजनिक गरिदिने बर्खास्त भएका मन्त्री खड्काको धम्की



पोखरा । कुमार खड्का नभएको भए गण्डकीमा गठबन्धनले सरकार बनाउन ठुलै मेहनत गर्नुपर्थ्यो । एक चौथाइ सांसदमा चित्त बुझाएको कांग्रेसलाई गण्डकी संसद्मा चिनाउने सांसद उनै खड्का थिए । संसद्मा उनको प्रस्तुति र उनले उठाएका विषय प्राथमिकताका साथ समाचारमा आउँथे ।

नयाँ प्रादेशिक स्वरूपमा संसद्भित्र कांग्रेसलाई उनले नै धानेको जस्तो देखिन्थ्यो । संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल भएपनि संस्थागत कुरा राख्दा कांग्रेस संसदीय दलमा कुमार खड्का नै हाबी देखिन्थे । संसदीय राजनीतिमा चतुर उनी प्रतिपक्षले पाउने सार्वजनिक लेखा समितिको सभापति पनि बने । त्यतिबेला लेखा समितिले गण्डकी सरकारका मन्त्रीले दुरुपयोग गरेको इन्धनदेखि गण्डकी ‘काउ फार्म’को महत्वाकांक्षी योजनाको छानबिन गरेको थियो ।

नयाँ स्वरूप भएकाले प्राय: सांसदहरू प्रक्रिया सिक्ने क्रममा नै खड्काले संघीय सांसदको अनुभवका आधारमा आफूलाई अगाडि देखाउन सक्षम भएका थिए । उनको खुबी नै थियो, यो ।

त्यो खुबीलाई उनले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्ने क्रममा पनि नेतृत्व लिँदै प्रमाणित गरे । हुनत संसदीय दलहरूले नेता चुनेका थिए । तर गठबन्धनको बैठक उनै खड्काको उपस्थितिमा मात्र हुन्थ्यो । कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बनाउन पनि उनले ठुलो भूमिका खेले । आफू पर्दापछाडि रहेर नै उनले केन्द्रमा नेतासँग समन्वय गर्नेदेखि गठबन्धनका नेताहरूलाई भेटाउने, बोलाउने, मिलाउने काम गरे ।

उनकै भूमिकाका कारण एकचौथाइ सांसद रहेको कांग्रेसले अहिले बहुमतका साथ गठबन्धन सरकारको नेतृत्व गरेको छ । सांग्रिला रिसोर्टको बैठकदेखि टिका रिसोर्टसम्म सांसद व्यवस्थापन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग सम्पर्क गर्नेदेखि जनमोर्चाका सांसद हराउँदा बैठक स्थगित गर्न सभामुखलाई लगाउनेसम्मका काम त्यतिबेलाको एमाले सरकार ढाल्नेक्रममा भएका थिए ।

मुख्यमन्त्री पोखरेलले पनि खड्काको त्यो सक्रियताकै कारण आफू मुख्यमन्त्री बनेको स्वीकारसमेत गरेका थिए । त्यतिमात्रै होइन, आफूपछिको वरीयताको दोस्रो मन्त्री पनि कुमार खड्कालाई नै बनाएका थिए ।

तर, समय फेरियो । त्यो निकट सम्बन्धमा दरार आयो । त्यो नजिकको सम्बन्ध अहिले कुमार खड्को बर्खास्तीमा परिणत भएको छ । बर्खास्तीमा परेका खड्काले मुख्यमन्त्रीको सनसनीपूर्ण भिडियो सार्वजनिक गरिदिने धम्की दिएका छन् ।

पत्रकार सम्मेलन गरेर उनले मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्तीको कारणबारे जवाफ नदिए वा दिएको जवाफ चित्त नबुझे उक्त भिडियो सार्वजनिक गरिदिने धम्की दिएका छन् । मुख्यमन्त्री पोखरेललाई गम्भीर आरोपमा मुछेका खड्कालाई चाहिँ पार्टी र उमेदवारलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै सहमतिपछि उनलाई हटाइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरमा छन् । खड्काको बर्खास्तीपछि सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय पनि पोखरेलले आफूसँगै राखेका छन् ।

चालु आर्थिक वर्षका ठुला योजनाहरू चुनावलगत्तै प्रक्रियामा अगाडि बढ्नेछन् । मुख्यमन्त्री पोखरेलले १ अर्बको पुल बनाउने भन्दा आफूले सहमति नजनाएकै कारण हटाइएको हुनसक्ने उनले आशंका गरे । “१०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरेँ । त्यही पनि एक कारण हुन सक्छ,” उनले भने ।

पछिल्लो समय मुख्यमन्त्री र आफूबीच सम्बन्ध चिसिएको उनले बताए । “उहाँको र मेरो सम्बन्ध पछिल्ला दिनहरूमा राम्रो छैन । बजेट विनियोजनका क्रममा उहाँहरूले गलत गर्नुभएको छ,” उनले भने ।

उनले यतिमात्र भनेनन्, सरकारले गण्डकीका मुख्यमन्त्री, मन्त्री तथा पदाधिकारीहरूका लागि गाडीसहितको सुविधा दिनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको समेत सुनाए । “पूर्व पदाधिकारीका नाममा केही करोडका गाडी खरिद हुँदै छ । त्यसो भएमा राजीनामा दिने भन्ने तयारी म लगायत एकदुई जना मन्त्रीको थियो,” उनी भन्छन्, “सरकारले धेरै गलत काम गरेपछि मैले विरोध गरेको हुँ । त्यसको सिकार अहिले मन्त्रीबाट हट्नुपर्‍यो ।”

कास्की २ (ख) बाट खड्का यसपटक टिकटका आकांक्षी थिए । तर, उनको ठाउँमा विन्दुकुमार थापाले टिकट पाए । गण्डकीका कानुनमन्त्रीसमेत रहेका थापाको नाम पनि उनले लिए । आफ्नो निर्वाचन क्षेत्रबाहिर बजेट हालेको भन्दै उनले योजनाको नाम नै तोके । उनले यो भन्नुपूर्व मन्त्री विन्दुकुमार थापाले आफूलाई आरोप लगाएको बताए ।


प्रतिक्रिया दिनुहोस !