१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुदूरपश्चिममा एमालेको ३१ वर्ष यताकै खराब नतिजा, भीम रावल र पार्टी विभाजन मुख्य कारण !



धनगढी । सुदूरपश्चिमको १६ निर्वाचन क्षेत्रमध्ये एमाले २ क्षेत्रमा सीमित हुन पुगेको छ । यसपटक सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको कञ्चनपुर–१ र बैतडीमा मात्रै एमालेले जितेको छ । कञ्चनपुर–१ मा माओवादी केन्द्रका बिना मगर हराएर एमालेका तारा लामा तामाङले जिते । तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मात्रै ल्याइन् । बैतडीमा भने माओवादीका नरेन्द्र कुँवरलाई ६११ मतले पराजित गर्दै एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले जिते ।

बाजुराका केही मतदान केन्द्रमा पुनःमतदान गर्नुपर्ने भएकाले परिणााम आउन बाँकी छ । यहाँ एमालेका कर्णबहादुर थापा र कांग्रेसका बद्री पाण्डे प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा भने एमालेले १६ मध्ये ११ क्षेत्रमा जित निकालेको थियो । एमालेसँगै गठबन्धनमा रहेको माओवादीले तीन सिट जितेको थियो । कांग्रेसबाट भने डडेलधुरामा शेरबहादुर देउवाले चुनाव जिते भने कैलाली–१ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरीले जिते । तर यसपटक एमालेले अघिल्लो चुनावमा जितेको ९ सिट गुमायो । अछामका दुई, कैलालीका दुई, कञ्चनपुरका दुई, दार्चुला र डोटी एमालेले यसपटक गुमाएको हो ।

एमालेको यो चुनावी पराजय ०४८ पछिको सबैभन्दा खराब हो । पञ्चायतको अन्त्यपछि २६ वैशाख ०४८ मा सम्पन्न चुनावमा एमालेले सुदूरपश्चिमका कुनैपनि सिट जित्न सकेको थिएन । ०५१ पछि एमालेले सुदूरपश्चिममा प्रभाव बढाएको थियो । ०५१ मा एमालेले सुदूरपश्चिमका १८ मध्ये ११ जितेर मुख्य शक्ति बनेको थियो ।

०५४ मा एमाले विभाजन भएकाले ०५६ को चुनावमा फेरि एमाले शून्य भयो । ०६४ मा माओवादीको लहर चलेका बेला पनि एमालेले तीन सिट जितेको थियो । ०६४ मा सिट संख्या बढेर सुदूरपश्चिममा २१ पुग्दा एमालेले ०७० को चुनावमा ९ क्षेत्र जित्यो । तर २ भदौ ०७८ मा विभाजित भएको एमाले यसपटक ५ जिल्लामा त क्लिनस्वीप नै भएको छ । दार्चुला, बझाङ, अछाम, कैलाली र डडेल्धुरामा एमालेका उम्मेदवारले जित्न सकेनन् ।

सुदूरपश्चिमका अरु क्षेत्रमा पनि प्रदेशसभा सदस्य जित्न सकेको छैनन् । शुक्रबारसम्म एमालेले बैतडीको (१) बाट सुरेन्द्र पाल, डोटी (१) बाट चक्र मल्ल र कञ्चपुर–१ (१) बाट बीरबहादुर थापाले मात्रै जितेका छन् । अघिल्लो चुनावमा एमालेले प्रदेशसभाको ३२ मध्ये १७ सिट जितेको थियो । समानुपातिकमा ८ सिट पाउँदा झण्डै बहुमत नजिक थियो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठा बनाएको सुदूरपश्चिममा ०६४ भन्दा कमजोर बन्नुमा भने मुख्यगरी तीन कारण रहेको नेताहरु बताउँछन् । पहिलो, सत्ता गठबन्धन बलियो हुँदा एमाले उम्मेदवारले जित्न सकेनन् । ०६४ को चुनाव छोड्ने हो भने यो प्रदेशमा पनि कांग्रेस र एमाले प्रतिस्पर्धी शक्ति हो । त्यसमा माओवादी र एकीकृत समाजवादीको मत थपिँदा एमालेले पराजय खेप्नुपरेको एमाले नेताहरु बताउँछन् ।

दोस्रो, एमालेको विभाजन । तत्कालीन नेकपा र पछि एमाले विभाजन हुँदा सुदूरपश्चिममा एमाले कमजोर बन्यो । एकीकृत समाजवादीले उत्कृष्ट नतिजा निकाल्नुले पनि विभाजनको कारण एमाले पराजित हुनुपरेको पुष्टि हुन्छ । एकीकृत समाजवादीले आफ्नो भागमा परेको अछाम–१, डोटी र बझाङमा जितेको छ । डडेल्धुराबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेताले समेत चुनाव जिते ।

एमालेले जित्न नसक्नुको तेस्रो कारण भीम रावल फ्याक्टर भएको नेताहरु बताउँछन् । रावलको असन्तुष्टि र उनीविरुद्ध केपी ओलीको अभिव्यक्तिका कारणले चुनावमा असर परेको देखिन्छ । अछाम–१ बाट सर्वसम्मत सिफारिस भएका रावललाई ओलीले टिकट नदिएर झपट बोहरालाई उम्मेदवार बनाएका थिए । तर यो क्षेत्रसँगै अछाम–२ मा समेत एमालेले हार व्यहोर्नुपर्‍यो ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठक भने भीम रावलका कारण अछामबाहेक अन्यत्र असर नपरेको जिकिर गर्छन् । सत्तारुढ गठबन्धन एकताबद्ध हुनु, मतदातामा पार्टी विभाजनको मनोवैज्ञानिक असर पर्नु, स्थानीय तह चुनावमा सत्ता गठबन्धनका दलले पाएको मत एमालेको भन्दा धेरै हुनु र एमालेविरुद्धको भ्रम चिर्न नसक्नु जस्ता पक्ष हारको कारक रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !