१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रचण्ड जी गोर्खा र म रौतहट नगएको भए गुल्ट्याइदिने रहेछन् : माधव



काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ कार्यकर्तामाझ नेता नेपालले भने । त्यति मात्रै होईन, प्रचण्डको पनि आफ्नै जस्तो हालत हुन सक्ने बताए । उनले भने ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिएका थिए । नेता नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भैसकेका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । २०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए । स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोजेका थिए ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा २० सिट पाएको थियो । जसमध्ये १० जनाले मात्र चुनाव जितेका छन् । चुनाव जित्नेमा नेता नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढा र अम्मरबहादुर थापा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !