१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

गगन र रवी मिलेर माओवादीलाई हराएको दाबी



काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले देशब्यापी अधिकांश स्थानको चुनावी परिणाम आइरहँदा अनौपचारिक समीक्षा सुरु गरेको छ। वाम-लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा होमिएको माओवादीले आफ्नो पक्षमा अनपेक्षित परिणाम आएसँगै आन्तरिक समीक्षामा जुटेको हो।

माओवादीले पार्टीमा चुनावको आन्तरिक समीक्षाको प्रारम्भिक निश्कर्ष निकालेको छ। माओवादीका एक पदाधिकारीका अनुसार कांग्रेस महामन्त्री गगन थापाले स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर देशब्यापी माओवादी उम्मेदवारलाई हराइएको उसको प्रारम्भिक निश्कर्ष छ।

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले ३६ सीट जितेको थियो। हालसम्म उसले प्रत्यक्षतर्फ १७ सथानमा जित हात पारेको छ। माओवादीबाट निर्वाचित अधिकांश उम्मेदवारहरु उसको आफ्नै सांगठनिक अवस्था मजबुत भएको स्थानमा बाहेक अन्यत्र कतै पनि जित हात पार्न सकेनन्।

उनीहरुले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको मतले एकाध स्थान दाङ क्षेत्र नं २ मा जित हात पारेको छ। जहाँ माओवादीको सांगठनिक अवस्था कमजोर रहेको छ। उक्त क्षेत्रमा बाहेक अन्यत्र माओवादीले गठबन्धनका अन्य मुख्य दल कांग्रेसबाट अपेक्षाकृत सहयोग नभएको उसको निश्कर्ष छ।

यस्तै काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी नदिइएकोप्रति पनि माओवादी थप सशंकित बनेको ती पदाधिकारीको भनाइ छ। महामन्त्री थापाले आफहरुूविरुद्ध स्वतन्त्र पार्टीसँग मिलेर अघोषित मोर्चाबन्दी गरेको र सोही कारणले कतिपय माओवादी शीर्ष नेताहरुले पराजय ब्यहोरेको ती पदाधिकारी बताउँछन्।

‘देशभर कतिपय स्थानमा आफ्नै कांग्रेस पार्टीका इतर समूह र कतिपय माओवादी शीर्ष नेताहरु हराउनुमा उहाँको भूमिका रहेको देखियो,’ ती पदाधिकारीले भने, ‘काठमाडौं ४ मा रवि लामिछानेको पार्टीले उम्मेदवारी नदिनु चितवन २ मा आफ्नै पार्टीका उम्मेदवारले बारम्बार चुनावी कार्यक्रममा बोलाउँदा सहभागी नहुनुलेसमेत उहाँहरु बीचको अघोषित मोर्चाबन्दी भएको तथ्यले देखाउँछ।’

यस्तै माओवादीका नेता राष्ट्रियसभाका निवर्तमान सांसद रामनारायण विडारीले रवि लामिछानेको स्वतन्त्र पार्टी र गगन थापा एउटै शक्तिकेन्द्रबाट सञ्चालित भएको गम्भीर आरोप लगाएका छन्। उनले काठमाडौं ४ बाट उम्मेदवारी नदिनु र चितवन २ मा चुनावी कार्यक्रममा थापा सहभागी नहुनु साँठगाँठ भएको विडारीको आरोप छ।

माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य विमल अधिकारीले दुबै मिलेर देशब्यापी गठबन्धन र कांग्रेसका आफू इतर मूलत देउवा पक्षका उम्मेदवार पराजित गर्न गठजोड गरेको आरोप लगाए।

यी दुबै एउटै शक्तिकेन्द्रबाट सञ्चालित भएको उनले आरोप लगाए। ‘राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुको एउटै स्वार्थ यी दुबैसँग जोडिएको छ। त्यो समयक्रममा पुष्टि हुँदै जाला तर अहिलेको निर्वाचनमा यी दुबैको मिलिभगतमै गठबन्धनका उम्मेदवार माओवादीविरुद्ध परिचालित भएको सत्य हो। यसलाई पार्टीले गम्भीरताका साथ लिएको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !