१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते



काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । स्थानीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले भानुभक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि बताए ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।

साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए । बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष हरि कठायत र उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस !