२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनुपर्छ : थपलिया



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनुपर्ने बताएका छन् ।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आममतदाताहरूले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाउनुपर्ने बताएका हुन् ।

उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोबास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए ।

उनले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानुन बनाएर आममतदातालाई दिइनुपर्ने बताए । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उनको भनाइ छ ।

उनले भने‚ ‘अब बन्ने कानुनमा त्यो व्यवस्था गर्नुपर्छ भन्ने मेरो बुझाइ छ, नेपालभित्र अन्तिम मतदाता नामावलीमा नाम भएको कुनै पनि व्यक्तिको घरनजिकै उसको मतदान केन्द्र छ अथवा मतदान केन्द्रमै पुग्छ भने ठिक छ । तर‚ तपाईं एउटा एन्जीओमा काम गरिरहनुभएको छ, कार्यालय काठमाडौंमा छ तर तपाईंको घरचाहीँ अन्तै हो भने तपाईंले भोट नै हाल्न नपाउने भन्ने हुन्छ ? जो जहाँ छ‚ त्यहीँबाट कम्तीमा पनि समानुपातिकतर्फबाट भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्नेगरी कानुन बनाउनुपर्छ‚’ उनले भने ।

योपल्ट कर्मचारी‚ कैदीबन्दीलाई आफू बसेकै स्थानबाट मत हाल्ने व्यवस्था मिलाएको भन्दै उनले भने‚ ‘तपाईं कैदीबन्दीभन्दा पनि कमजोर हो र ? सबैलाई यो अवसर दिनुपर्छ । यसो गर्‍यो भने मत त यसै पनि बढ्यो नि । १० लाखभन्दा बढी मतदाताले यसपालि भोट हाल्न पाएका छैनन् । त्यसकारण हामीले मात्रै भन्न सक्दैनथियौं किनभने कानुनमै यस्तो व्यवस्था थिएन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकहरूमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको बताए । उनले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरूलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताए ।

उनले आयोगले समावेशीता र लैंगिक समानतालाई समेटेर निर्वाचन कानुन तयार भइरहेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस !