१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

प्रचण्डको दोमन : गठबन्धन बचाउने कि पुरानो ब्युँताउने



काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकपटक फेरि दुविधामा परेका छन्। मंसिर ४ को निर्वाचनपछि प्रधानमन्त्री बन्न जसरी उनले कांग्रेस र एमालेमध्ये कसलाई रोज्ने भन्ने विषयमा दुविधामा परेका थिए, त्यसैगरी राष्ट्रपति निर्वाचनमा वर्तमान गठबन्धन बचाउने कि पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा उनी दोमनमा परेका छन्।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूसँग घन्टौं वार्ता गरेका प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवार फाइनल हुन नसकेको बताए। उनले सबैले सबै दलसँग छलफल गरिरहेकाले टुंगो नलागेको स्पष्ट पारेका थिए।

कांग्रेससहित पुरानै गठबन्धनका नेताहरूसँग तीव्र सम्बाद गरिरहेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताए। उनले भोलि दिउँसोसम्म ओलीसँग छलफल हुने बताए।

राष्ट्रपति निर्वाचनको समय घर्किँदै गर्दा प्रचण्ड किन अलमलमा परेका छन्रु यो प्रश्नले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ। बुधबार साँझ बालुवाटारमा कांग्रेससँग भएको वार्तापछि प्रचण्ड पाँच दलीय गठबन्धन ब्युँताउन सकारात्मक भएका थिए। स्रोतका अनुसार बैठकमा कांग्रेस नेताहरूले एमाले अध्यक्ष ओलीको प्रतिगमन स्मरण गराएका थिए। ओलीले पटक-पटक संसद विघटन गरेर देशलाई अनिर्णयको बन्दी बनाएको र अहिले गठबन्धन कायमै रहे भोलि त्यो दिन पनि आउनसक्नेतर्फ प्रचण्डलाई कांग्रेस नेताहरूले सचेत गराएका थिए।

मंसिर ४ को निर्वाचनपछि दोस्रो दलमा सीमित भएको एमालेलाई पहिलो दल बनाउन ओली कम्मर कसेर लागेका छन्। माधव नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकतासम्मको कसरत ओलीले गरेका छन्। दोस्रो विकल्पमा ओलीले मध्यावधि चुनाव चाहेका छन्। निर्वाचनलगत्तै उनले कुनै दलको बहुमत नआएकाले अस्थिरता कायम हुने र देश मध्यावधितिर जाने संकेत गरेका थिए। त्यही भएर पनि ओलीले यतिबेला पार्टीको दुई महिने मिशन ग्रासरुट अभियान सञ्चालन गरेका छन्।

ओलीप्रति संशय भावना राखेरै प्रचण्ड दोमनमा परेको उनी निकट नेताहरूको दाबी छ। वर्तमान गठबन्धनमा पनि ओली हाबी भएको प्रचण्डको निष्कर्ष छ। राष्ट्रपति एमालेलाई दिँदा आफू झनै कमजोर हुनसक्ने ठम्याई प्रचण्डको छ। २५ पुसको राति धुम्बाराहीमा प्रधानमन्त्री प्रचण्डले देउवालाई राष्ट्रपति दिने वाचा गरेको धेरैले अनुमान गरेका छन्। सोही वाचाअनुसार कांग्रेसले २६ पुसमा प्रचण्डलाई विश्वासको मत दिएको धेरैको बुझाइ छ।

यतिबेला प्रचण्ड कांग्रेस निकट हुन खोज्नु र पाँच दलीय गठबन्ध ब्युँताउने कसरत गर्नु पनि २५ पुसकै देन मान्न सकिने राजनीति वृत्तमा चर्चा छ। यद्यपि प्रचण्डलाई वर्तमान गठबन्धन जति घाँडो लागेको छ, त्यति नै घाँडो पाँच दलीय गठबन्धन पनि लाग्नेमा कुनै दुई मत छैन।

केन्द्रीय सरकारको समीकरण परिवर्तन भएसँगै प्रदेशको पनि परिवर्तन हुने निश्चित देखिन्छ। त्यसमा पनि कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषय टाउको दुखाइको विषय बन्नसक्छ। अर्कोतिर पाँच दलीय गठबन्धन ब्युँताउँदा केन्द्रीय सरकारको भागबण्डा गर्नु पनि उतिकै झन्झटिलो देखिन्छ। किनकि वर्तमान गठबन्धनबाट एमाले बाहिरिए पनि कांग्रेस, एकीकृत समाजवादीसहितका दलहरू सरकारमा मिसिनेछन्। त्यस्तो अवस्थामा पावर सेयरिङमा समस्या आउने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !