१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नगरकोटीको मार्क्स र थोमसका बाबूहरू



-पदम बडाल

अन्ततः उनी स्वयम् बोले, ‘‘जानुअघि एउटा कुरा मिस्टर नगरकोटी ! तपाईँ पनि कतै मार्क्सवादी त होइन ?’’ मैले होइन भन्दा उनी खुशी भए मलाई अङ्कमाल गरे र भने, ‘‘मलाई मार्क्सवादीहरूसित निकै डर लाग्न थालेको छ ।’’

कुमार नगरकोटीकृत ‘कार्ल मार्क्स, सोल्ड आउट !’को उपर्युक्त दोस्रो अन्तिम आख्यानांशले मार्क्सवादी विचार मार्क्सवादी हुँ भन्नेहरूसँगै त्रसिनु परेको देखाएको छ । नगरकोटीले के देखाउन खोजेका थिए, त्यो मेरालागि प्राथमिकतामा छैन । मैले त्यसमा साठी प्रतिशत वामविचार बोक्ने नेपाली (?) मतदाताहरुले चुनी पठाएका, मानी पठाएका, छानी पठाएका मार्क्सवादी हुँ भन्नेहरूको चरित्रिक उपज देखेँ । अझ ‘कार्ल मार्क्स, सोल्ड आउट !’ को पठनले त्यो चित्रलाई सजीव तुल्यायो । मार्क्सको त्यो भूत (माफ गर्नु होला कथामा भूत छैन) को दीपले नेपाली समाज एकातिर प्रदिप्छ भने अर्कातिर थोेमसले जन्माएका ‘नेपाली बाबूहरू’ को क्रन्धनले कोलाहलित छ । बाबूहरूले आदर्श मानेको युरोपेली सभ्यताले, अध्ययनले, पृष्ठभूमिले यतिबेला उपचुनावमार्फत आफूलाई शक्तिको केन्द्रमा धसाउने पहल गर्दै छ र मार्क्सवादहरू पुराना ठेली बेच्दै सत्ताको रत्यौलीमा छन् । वैचारिक र सैद्धान्तिक रूपमा अपाहिज बनाइएका तिनका कारिन्दाहरू प्रकाश सपुतको ‘फुलमाया÷सकम्बरी’को समर्थन÷विरोधमा मदमस्त छन् ।

एक हिउँदले जाडो जाँदैन भन्दै वैचारिकतालाई थाङ्नामा सुताउँदै विचारबाहिर गएर, सङ्गठनबाहिर गरेर, सिद्धान्तबाहिर गएर एक निर्वाचनमा, एक मत दिन गरिएको अनुनयका भित्र थोमसका बाबूहरूको षडयन्त्र बुझ्ने चेतना मार्क्सका चपेटाहरूमा छैन । हुँदो हो त यी बाबूहरूको बजार गर्माउने थिएन, अखिल नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा प्रवेश गर्नबाट मार्क्सलाई वञ्चित गरिने थिएन । यो वैचारिक स्खलन हो वा सत्तालिप्सताको परिणाम ? जवाफ दिन कुन्साङ काका र सिके लाललाई जिम्मा छोडेको छुँ । अलिक बढी नै दिन भयो उहाँहरूका वाणहरू धनुषबाट छुटेको देखिएको छैन । छुटाउनमा सिकेभन्दा काका पछाडि पर्न लागे, चिन्तित तुल्याएको छ ।

पूर्वेलीहरू अल्छी, भावुक, अतार्किक मानसि हुन् र पश्चिमेलीहरु मेहनती, तार्किक र विचारशक्तिबाट निर्देशित आधुनिक हुन् भन्ने डेरिडाको भाष्य लिएर नेपालका सडकहरू हुँदै गाउँका चोकसम्म पुगेका थोमसका बाबूहरूलाई पूर्वेली सभ्यता, संस्कृति र मूल्यहरु चिनाउन कमरेड किरण र किरणहरूलाई ठाउँ दिइएको छैन । किरणहरू मार्क्स बेचिएको अँध्यारो गल्लिहरूमा हल्लिदै संस्कृत भाषाको महानतामा सीमित हुनु पर्ने दिन यति चाँडै आउला भनेर कम्तिमा मैले सोचेको थिएन । प्रचण्ड किरणहरूले जन्माएका तेजतर्रार तरवारहरु आफ्नै तजबिज उखेल्न प्रयोग होलान्, प्रयोग गरिएलान् भन्ने कुराको आशङ्का पचासको दशकको मध्यमा थिएन । संशोधनवादी र गद्दारको पगरि गुथाइएका भण्डारीको संसदीय मार्गमा प्रचण्डकिरणहरू विलीन हुनु नवमाक्र्सवादी चिन्तनको विजय हो वा थोमसका बाबूहरुको चमत्कार हो ? कुन्साङ् काकाको जवाफ पर्खी रहेको छुँ ।

थोमस बेबिङ्टन मेकाउलेले सिफारिस गरेको शिक्षा नीतिले जन्माएका बाबूहरूकै कारण विश्वभर राज गरेको युरोपेली साम्राज्य तिनै बाबूहरूको विद्रोहका कारण असफल भएको कुरालाई बिर्सिन सकिदैन तर सडकमा, सदनमा, सञ्चारमा, सञ्जालमा रजगज चलाई रहेको बाबू र तिनका कारिन्दाहरूले निर्माण गरेको वायुमण्डलमा रनभुल्ल परेका आममतदालाई बाहिर निकाल्न मार्क्सवादीहरूले अभिमन्यू जन्माई सकेका छैनन्, जन्मिएका अभिमन्यूहरुको अवमूल्यन मात्रै गरिएको छ ।

सांस्कृतिक ज्ञानले भारतीयभन्दा बढी सभ्य देखिने तर छाला गारो नभएर पूर्ण गोरो हुन नसकेका बाबूहरूमा आत्महीनताको अवस्था आउँदा उनीहरू नै युरोपेली औपनिवेशिकवादको विरुद्ध लागेको इतिहास मरेको छैन । युरोपियन देशहरूमा अब्बल गरेको भनिए कै नाममा नेपालको राज्यसत्तामा ¥याल काढेर सडक, सदन, सञ्चार र सञ्जाल ढुकेका बाबूहरू पनि एक दिन तिनै अब्बल कथ्ने देशहरूबाट तिरस्कृत (कतिपय तिरस्कृत भएका) हुने छन् ।

युरोप बेलायतमा राम्रो गरेकाहरूले नै यो देशमा राम्रो गर्छन् भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त हुनु पर्ने दिन आएको छ । ‘माक्र्स इज सोल्ड आउट’ नभएर ‘स्टिल अन स्टक’ भाष्य निर्माण गर्नु छ । भीमसेनका पालादेखि सुरु भएको आन्तरिक औपनिवेशवाद राणा, शाहकाल हुँदै अझै मौलाउँदै छ भन्ने चिन्तकहरूले यो औपनिवेशवादको परिमार्जित र रूपान्तरित स्वरूपको रूप नेपालीहरूसमक्ष राख्नु पर्ने बेला आएको छ । जुन युरोपमा सरमाथा र कुनै व्यक्तिको नामले मात्रै देश नेपाल भनेर चिनाइन्छ भनिएको छ त्यो महादेशका दर्जनभन्दा बढी देशहरूमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर किन पढाइन्छ ? भन्ने प्रश्नको जवाफ बाबूहरू र तिनीहरूका नेपाली भर्जनहरूले दिनु पर्छ । उतै अब्बल गरेकाहरूले बुद्ध नेपालमा जन्मको तथ्यलाई उतैका पाठ्यक्रममा राख्न सकेको भए जयकारको ध्वनि अझ गुञ्जित हुने अवसर पाउँथ्यो तर हामी थोमसका बाबूहरू बन्दै औपनिवेशिक मस्तिष्क बोकेर मात्रै हिँड्दै छाँै, हिँडाइदै छ ।


प्रतिक्रिया दिनुहोस !