२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

श्रीमतीको दबाब थेग्न नसकेर खाँणले पाण्डेलाई गृहसचिव बनाए, उनैले हिरासत पुर्याए



काठमाडौं । पूर्वगृहमन्त्री बालकुष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका समयमा सुरु भएको नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने र मोटो रकम असुल्ने कामको संरक्षण गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । सुरुमा सचिव टेकनारायण पाण्डेमार्फत् सुरु भएको नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काममा पछि खाँण पत्नी मञ्जु र उनी स्वयम् जोडिएको अभियुक्तको बयानबाट खुलेको प्रहरीको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रहरीले खाँणसहित १२ जनालाई पक्राउ गरिसकेको छ । आजै संवैधानिक भूमिकामा रहेका र एक अवकाशप्रप्त सचिवलाई पनि पक्राउ गर्ने तयारी गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । पक्राउ पुर्जी जारी गर्दा आरोपित भाग्ने भएपछि जरुरी पुर्जी थमाएर पक्राउ गर्ने रणनीति प्रहरीले बनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ पहिलो चरणमा पक्राउ परेका थिए । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का सागर राईलाई पक्राउ गरेको थियो ।

अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । संगठित ठगीमा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दैगर्दा उनीहरूकै बयानका आधारमा वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परे । वैशाख २० मा तत्कालीन गृहसचिव तथा उपराष्ट्रपति कार्यालयमा कार्यरत टेकनारायण पाण्डे पक्राउ परे ।

सोही दिन नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि बुटवलबाट पक्राउ परे । छोरा पक्राउ परेका दिन अर्घाखाँचीमा सभामुखसहित विद्यालयको स्वर्ण महोत्सवमा सहभागी भएका सचिव टोपबहादुर फरार भए । वैशाख २५ मा गिरोहको सदस्य भएको भन्दै प्रहरीले रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । बुधबार प्रहरीले तकालीन गृहमन्त्री तथा कांग्रेस नेता खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ ।

गृहमन्त्री भएका बेला कांग्रेसका नेताहरूले राम्रा सचिवका रूपमा धेरैजनाको नाम खाँणलाई सिफारिस गरेका थिए । खाँणले भने त्यसरी सिफारिस हुँदा स्पष्ट जवाफ नदिने गरेका थिए । “हामीले त तपाईंलाई फलाना सचिवमार्फत् काम गर्नुभयो भने सफल बनाउँछन् । अलिकति कम भ्रष्ट हुन् र तिनलाई गलत काम गरे भने पारिवारिक रूपमा पनि कन्ट्रोल गर्न सकिन्छ भनेर सिफारिस गरेका थियौँ,” नेपाली कांग्रेसमा खाँणसँग लामो संगत गरेका एक नेताले भने, “पछि थाहा भयो, टेकनारायणलाई ल्याउन श्रीमती खाँणको सिफारिस रहेछ ।” अलिकति पैसामा चल्ने सचिव ल्याएपछि उनैमार्फत् खाँण पनि त्यसमा हराएको हुन सक्ने उनको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !