२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

जब पाण्डेको मोबाईलमा नरेन्द्रले पनि आस गर्छ, ५ लाख फालिदिनुपर्ला भन्ने च्याट फेला पर्यो



काठमाडौं । बिचौलियाहरूसँग पैसा लिएको ठोस प्रमाण भेटिएपछि मात्रै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् । खाँण र केसीलाई बुधबार पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार खाँणविरुद्ध चारवटा बलिया प्रमाण फेला परेका छन्, जसले यो ठगी धन्दामा उनको प्रत्यक्ष संलग्नता देखिन्छ ।

खाँणले आफू गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाखभन्दा बढी रकम लिएको प्रमाण भेटिएको प्रहरीको दाबी छ । यस्तै, यही प्रकरणमा पक्राउ गरिएका सचिव टेकनारायण पाण्डेले पनि खाँणलाई बुझाउन बिचौलियासँग रकम लिएको स्वीकार गरेको विषयलाई पनि प्रहरीले बलियो प्रमाण मानेको छ । यसबाहेक विभिन्न मितिमा खाँणले मन्त्रीस्तरीय निर्णय गराएर बिचौलिया समूहलाई सघाएको पुष्टि हुने आधारहरू भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।

बुधबार पक्राउ परेका तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले पनि ठगी प्रकरणमा ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट यो तथ्य उजागर भएको प्रहरी दाबी छ । ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई ५ लाख फालिदिनुपर्ला’ भन्ने च्याट विवरण पाण्डेको मोबाइलमा भेटिएको प्रहरी स्रोतले बताएको छ ।

हुन त पाण्डेले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल फर्म्याट गरिसकेका थिए । तर, प्रहरीले डाटा रिकभर गरेर प्रमाण फेला पारेको हो । प्रहरीले मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढेपछि मात्रै खाँणलाई पक्राउ गरेको हो । म्यासेजमा करोडौँ रकम लेनदेनबारे दुई जनाबीच कुराकानी भएको भेटिएको छ । यही प्रमाण खाँणलाई पक्राउ गर्न प्रहरीका लागि पर्याप्त बनेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको पर्दाफास हुँदा तत्कालीन गृहमन्त्री र गृहसचिव नै अहिले प्रहरी हिरासतमा पुगेका हुन् । ८ सयभन्दा धेरै मानिसलाई ठगी गरी करोडौँ रुपैयाँ उठाएको यो प्रकरणमा पक्राउ पर्ने पूर्वगृहमन्त्री खाँण र नेपाल सरकारका सचिव पाण्डे सबैभन्दा उच्च तहका व्यक्ति हुन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा जोडिएका थप हाई प्रोफाइल व्यक्तिहरू पनि तानिने सम्भावना बढेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय