१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कोसी प्रदेशमा हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित



विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने र जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेसँगै कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।

मुख्यमन्त्री हिक्मत कार्कीले प्रमुख विपक्षी र विपक्षी दललाई विश्वासको मत दिन औपचारिक पत्राचार गरेका थिए । तर, प्रमुख विपक्षी कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले औपचारिक रुपमै दलको बैठकबाट मत नदिने निर्णय गरे ।

आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची सार्वजनिक हुनुअगावै मुख्यमन्त्रीले दललाई औपचारिक पत्राचार गरेका थिए । तर, कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठकले औपचारिक रुपमै निर्णय गरी मत दिन नसक्ने बरु आफ्नै पहलकदमीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन् । यसअघि, शनिबार नै अर्को विपक्षी दल एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वास मत दिन नसक्ने जनाउ दिइसकेको थियो ।

बिहीबारको बैठकमा कार्कीले जसपाबाट मत पाउन सके सरकार जोगिने विश्वाससाथ प्रक्रियामा सामेल हुने तयारी गरेका थिए । तर, कार्यव्यवस्था समितिको बैठकलगत्तै जनता समाजवादी पार्टीले औपचारिक बैठकबाट विश्वास मतको पक्ष वा विपक्षमा मत नदिने निर्णय लिएसँगै कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । जसपा कोसी प्रदेश समितिका राजनीतिक सल्लाहकार जयराम गौतमले पक्ष वा विपक्षमा मत नदिने निर्णय भएको जानकारी दिएका छन् ।

सरकार जोगाउन कार्कीलाई ४७ मत आवश्यक पर्छ । अहिले कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन छ । यो अंकगणितले सरकार टिकाउन चाहिने बहुमत पुग्दैन । अब कार्कीले विश्वासको मत लिने प्रक्रियमा सामेल हुन्छन् अथवा राजीनामा दिन्छन् भन्ने तय भएको छैन ।


प्रतिक्रिया दिनुहोस !