२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

सरकारको असहयोगको सिकार बन्दै नेपालको ईन्टरनेट उद्योग



इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तर्राष्ट्रिय ब्यान्डविथ आपूर्तिकर्ता भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई लाइन नकाटिदिन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति नदिंदा विगत ९ महिनादेखि भुक्तानी पठाउन नपाएका इन्टरनेट प्रदायकले सोमवार पत्राचार मार्फत केही दिनका लागि भए पनि इन्टरनेट बन्द नगरिदिन अनुरोध गरेका हुन् ।

नेपाली इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ बापत भारतीय अपस्ट्रिम प्रदायकलाई तिर्नुपर्ने पैसाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विगत नौ महिनादेखि स्वीकृति दिएको छैन । जसले गर्दा नेपालको अधिकांश इन्टरनेट उधारोको भरमा चलिरहेको छ । 

लामो समयदेखि ब्यान्डविथको भुक्तानी पाउन नसकेपछि भारतीय अपस्ट्रिम प्रदायकले ३१ डिसेम्बर (१५ गते आइतबार) सम्म पैसा नपाए इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउन कसनक्ने भन्दै चेतावनी दिएका थिए । तर मन्त्रालयले विवादित बेरुजु तथा बक्यौताको कारण देखाउँदै सेवा प्रदायकहरूको विदेशी मुद्रा सटही सुविधा रोकिदिएको छ । 

नेपालका इन्टरनेट सेवा प्रदायकहरूको प्रतिनिधिमूलक संस्था आइस्पानले अपस्ट्रिम सेवा प्रदायकलाई लेखेको पत्रमा भनिएको छ, “अपस्ट्रिम सेवा प्रदायकले ३१ डिसेम्बरसम्म भुक्तानी नदिए ब्यान्डविथ उपलब्ध गराउन असमर्थ रहेको भन्दै  नेपालका इन्टरनेट सेवा प्रदायकलाई पठाएको पत्रको विषयमा हामी जानकार छौं । यसबाट नेपालको इन्टरनेट तथा ब्यान्डविथ काटिन सक्ने गरी मडराइरहेको कुरा हाम्रा लागि निकै ठूलो विषय र राष्ट्रिय मुद्दा बनेको छ ।”

विदेशी मुद्राको स्वीकृति प्राप्त नहुँदा ब्यान्डविथको भुक्तानी गर्न नसकिएको भन्दै आइस्पानले आसन्न सङ्कट नेपाल सरकारका निकायहरूबाट उत्पन्न भएको उल्लेख गरेको छ ।

“१३ डिसेम्बरका दिन मन्त्रालयमा पुगेको आइस्पानको संयुक्त डेलिगेसनले न्यायपालिका र व्यवस्थापिकाले गरेका निर्णयसँगै विद्यमान परिस्थिति बारे अवगत गराउँदै विदेशी मुद्रा सटहीको स्वीकृतिको सुविधा उपलब्ध गराउन अनुरोध गरेका थियौं,” पत्रमा अगाडि भनिएको छ ।

“त्यसैगरी प्रधानमन्त्री कार्यालयलाई समेत यो जरुरतको विषयमा अवगत गराएका थियौं र त्यहाँबाट समेत हस्तक्षेप गरी सञ्चार मन्त्रालयलाई सहजीकरणका लागि तत्काल कदम चाल्न भन्दै पत्राचार गरिएको अवस्था छ ।”

नेपालको इन्टरनेट सेवा अवरुद्ध हुन नदिन सम्बन्धित सरोकारवाला, अपस्ट्रिम प्रदायक, मन्त्रालय, प्राधिकरण र अन्य सरकारी निकायबीच आइस्पान र यसका सदस्य कम्पनीहरूले सक्रियता पूर्वक समस्याको समाधानका लागि पहल जारी राखेका छन् । नियामक प्राधिकरणले समेत २९ डिसेम्बरमा आइस्पानलाई पत्राचार गर्दै इन्टरनेट बन्द हुने परिस्थिति आउन नदिन आग्रह गरेको थियो ।

“यो परिस्थितिमा आइस्पान र यसका सदस्य संस्थाहरूसँग संवादमा सामेल हुन र पहल गर्नु सिवाय अरू विकल्प छैन । हामीसँग यस अघि नै अदालतबाट प्राप्त आदेश र यो विषयलाई उल्लेख गर्दै संसदीय समितिबाट भएको निर्णय समेत छ,” आइस्पानले भनेको छ ।

“त्यसैले हामी सञ्चार मन्त्रालयबाट चाँडोभन्दा चाँडो निर्णय हुने र यो अत्यावश्यकीय सवाल समाधान हुने कुराको प्रतिक्षामा छौं ।” इन्टरनेट सेवा प्रदायक र आइस्पान सातै दिन चौबीसै घण्टा अवरुद्ध नहुने गरी इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै आफूहरू यो परिस्थितिमा ग्राहकको विषयलाई लिएर चिन्तित रहेको उल्लेख पत्रमा गरिएको छ ।

“इन्टरनेट अवरोध वा ब्यान्डविथ काटिंदा त्यसले नेपालमा व्यवसाय, एयरलाइन्स, बैंक, शिक्षा, सञ्चार र महत्त्वपूर्ण सेवामाथिको पहुँचमाथि भयानक असर निम्त्याउनेछ,” अपस्ट्रिम प्रदायकलाई आग्रह गर्दै आइस्पानले अगाडि भनेको छ, “यो संवेदनशील घडीमा सबै तथ्यहरू जानकारी गराउँदै तपाईंलाई विनम्र अनुरोध गर्न चाहन्छौं ।

समयमै हुनुपर्ने भुक्तानीको महत्त्व हामीलाई राम्रोसँग थाहा छ र समस्याको समाधान खोज्न सरोकारवालाहरू निरन्तर लागिपरेको कुरा समेत अवगत गराउन चाहन्छौं ।” यो असामान्य परिस्थिति र सरकारी तवरमा भइरहेका प्रयासलाई अगाडि सार्दै आइस्पानले इन्टरनेट सेवा तथा ब्यान्डविथ नकाटिदिन र भुक्तानीका लागि छोटो समयका लागि भए पनि भुक्तानीको सीमा बढाइदिन अनुरोध गरेको छ ।

“थप केही दिनको समयसीमा प्राप्त भएको खण्डमा नेपाल सरकारले जरुरी स्वीकृतिको विषय टुङ्ग्याउने छ र दशौं लाख नेपाली नागरिकलाई अवच्छिन्न इन्टरनेट पहुँच सुनिश्चित गर्नेछ । यो अस्थायी किसिमको प्रबन्धले नेपालका ग्राहकसँगै हामी दुवै पक्षको चाहना सम्बोधन गर्नेछ ।”

आइस्पानले पठाएको पत्रलाई लिएर भारतीय अपस्ट्रिम सेवा प्रदायकबाट यो समाचार तयार पार्दासम्म कुनै पनि जवाफ प्राप्त नभएको आइस्पान स्रोतले जनाएको छ । “उनीहरूले भुक्तानीका लागि दिएको अन्तिम म्याद आइवार राति नै समाप्त भइसकेको छ,” आइस्पानका एक सदस्यले भने ।

“तर अहिलेसम्म इन्टरनेटमा कुनै समस्या आइसकेको भन्ने जानकारी प्राप्त भएको छैन । उताबाट हाम्रो माग अनुसारको थप समयसीमा प्राप्त हुन्छ कि हुँदैन भन्ने अन्योलता पनि कायमै छ । नेपालमा इन्टरनेट बन्द हुने वा निरन्तर चलिरहने भन्ने कुरा सम्पूर्ण रूपमा भारतीय अपस्ट्रिम प्रदायकमा नै निर्भर छ ।”

साभार : टेकपाना डट कम


प्रतिक्रिया दिनुहोस !