२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

निर्वाचन नसकिँदै राष्ट्रियसभा अध्यक्षमा गठबन्धनभित्र विवाद सुरु



राष्ट्रियसभाको निर्वाचन अबको दुई दिनपछि अर्थात् माघ ११ गते सम्पन्न हुँदैछ । राजनीतिक दलहरूले निर्वाचनको प्रचारप्रसार गर्ने समय सकिएको छ भने निर्वाचन आयोगले आफ्नो तयारी पूरा गरिसकेको छ । अहिलेको निर्वाचन यसै पनि रोचक बन्दैछ । सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दलबीचको प्रतिस्पर्धाले रोचक बनाउन लागेको हो ।

कोशी प्रदेशबाट कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला गठबन्धनको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दै गर्दा कांग्रेसका नेताहरूले उनलाई राष्ट्रिय सभाको भावी अध्यक्षको रुपमा प्रस्तुत गरेका छन् । तर, यो विषयमा गठबन्धनभित्र छलफल नभई बाहिर आएपछि पछिल्लो पटक सत्तामा रहेका दलहरूसमेत झस्किएका छन् । राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी भने अहिलेसम्म निश्चित भइसकेको छैन । सुरु गठबन्धनकै बेला एकीकृत समाजवादीले पनि राष्ट्रिय सभा अध्यक्ष दाबी गरिरहेको थियो । अहिले पनि राष्ट्रिय सभाको अध्यक्षसहितको प्याकेजमा नेकपा एसले दावी गरिरहेको स्रोतले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई व्यवस्थापन गर्न राष्ट्रिय सभाको अध्यक्ष बनाउन चाहेका हुन् । तर, संवैधानिक परिषदको शक्ति सन्तुलन लगायत विषय उठाएर एकीकृत समाजवादीले अध्यक्ष दाबी गरेको नेकपा एसका एक पदाधिकारीले भने । अहिले संवैधानिक परिषदमा एकीकृत समाजवादीको प्रतिनिधित्व छैन । 

६ सदस्यीय परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना (कार्यकाल सकिएको), प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर सदस्य छन् । हाल राष्ट्रिय सभाको अध्यक्ष रहेका तिमल्सिना पदावधि सकिएर बिदा हुँदैछन् । उनी फागुन २० बाट विदा हुँदैनन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना पदमा रहँदासम्म संवैधानिक परिषदमा एमालेका ३, माओवादी र रास्वपाको १–१ सदस्य छन् । यस कारण एकीकृत समाजवादीले संवैधानिक परिषदमा भाग खोजेको मात्र होइन राष्ट्रिय सभाको अध्यक्षलाई प्रतिष्ठाको विषय पनि बनाएको छ । एकीकृत समाजवादीले सार्वजनिक रुपमा यस विषयमा बोलेको छैन । तर, गठबन्धन दलभित्र आन्तरिक रुपमा एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने माग गर्दै आएको मात्र होइन २०७९ सालकै गठबन्धनमा यो विषयले प्राथमिकता पाएको थियो । 

अहिले त्यो यथावत रहेको एसका ती पदाधिकारीको दावी छ । एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्ष पाएको खण्डमा बेदुराम भुसाललाई अघि सार्ने देखिएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल अहिले कृषि मन्त्री छन् । राष्ट्रिय सभाका सदस्यसमेत रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने एकीकृत समाजवादीको आन्तरिक तयारी छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच भागबन्डा गर्दा एकीकृत समाजवादीले ३ सिट दाबी गरेको थियो । तर, दुई सिट मात्र पाएकाले रुष्ट छ । भागबन्डामा भने जति सिट नपाएर रुष्ट भएको एकीकृत समाजवादीलाई मनाउनुपर्ने बाध्यता छ । ‘भूसाललाई तत्कालै मन्त्रीबाट फिर्ता गर्न पनि अप्ठेरो भएकाले पार्टी अध्यक्ष नेपालले व्यवस्थापन खोजिरहेका हुन् । 

खास गरी नेकपा एसले घनश्याम भूसाललाई महामन्त्री बनाएर पठाउँदा पनि बेदुराम भूसाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन पहल गर्ने सहमति भएको थियो । दुवै भूसालको व्यवस्थापनको कुरा उठाइएको थियो त्यतिबेला अहिले बेदुरामलाई अध्यक्ष बनाउने विषयमा पार्टीभित्र एक मत छ, त्यसकारण पनि गठबन्धनमा यो विषयले प्राथमिकता पाएको स्रोतको दावी छ ।   


प्रतिक्रिया दिनुहोस !