१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

श्रीमतीको हत्या गरी कर्मचारीमाथि पनि आक्रमण



बैतडीमा एक जनाले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरमा डेरा गरी बसेका गाउँपालिकाका दुई जना कर्मचारीलाई पनि उनले गम्भीर घाइते बनाएका छन् । 

गम्भीर घाइते कर्मचारीको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि कोलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको छ । बिहीबार बिहान ९ बजे गाउँपालिका केन्द्र रहेको डिलाशैनी गाउँपालिका –७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरी आफ्नो ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यापछि धामीले आफ्नै घरमा डेरा गरी बसेका दशरथचन्द नगरपालिका –९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टमाथि आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो । 

घाइते कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगन्ज पठाइएको उहाँले जानकारी दिनुभयो । घाइते कर्मचारीको अवस्था गम्भीर रहेकाले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न धामीले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

धामीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसीको नेतृत्वमा सात जना प्रहरीको टोलीलाई घटनास्थलमा खटाइएको छ । 


प्रतिक्रिया दिनुहोस !