१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

गुल्मीबाट एसइई दिने विद्यार्थी घट्दै



गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो तीन वर्षको तथ्याङ्कमा जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थी घट्दै गएको देखिएको हो ।

चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसइईमा यहाँ गत वर्षभन्दा यस वर्ष ६२५ जना कम देखिएको छ । यहाँका १३८ विद्यालयका चार हजार ९७ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमित साधारणतर्फ तीन हजार ७७७ र नियमित प्राविधिक तर्फ २९५ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमित खुलातर्फ १३ र ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

२०७९ को एसइईमा यहाँका १४० विद्यालयका चार हजार ७२२ विद्यार्थी विभिन्न २८ परीक्षा केन्द्रमा सहभागी भएका थिए । जसमा नियमित साधारणतर्फ चार हजार ३३०, नियमित प्राविधिकतर्फ ३४२, नियमित खुलातर्फ आठ र ग्रेड वृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई को तथ्याङ्कमा उल्लेख छ ।

२०७८ को एसइईमा यहाँका १४० विद्यालयका चार हजार ८२३ विद्यार्थी विभिन्न २७ वटा परीक्षा केन्द्रमा सहभागी भएका थिए । जसमा नियमित साधारणतर्फ चार हजार ४९२, नियमित प्राविधिकतर्फ २८७, नियमित खुलातर्फ २१ र ग्रेड वृद्धितर्फ २३ विद्यार्थी सहभागी भएको तथ्याङ्कमा उल्लेख छ ।

यहाँको जन्मदर कम हुनु र बसाइँ–सराइले एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या घटेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !