१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

इलाम र बझाङमा माओवादीले आफ्नै उम्मेदवार उठाउने



सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम-२ र प्रदेश सभामा बझाङ-१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताउनुभयो । उहाँले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट  टुङ्गो लाग्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आजको हाम्रो पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने र बझाङमा प्रदेश सभाको निर्वाचनमा पनि उठाउने निर्णय भएको छ । व्यक्तिको बारेमा निर्णय गर्न सिफारिस आउँदै छ, छलफल बाँकी छ, सायद अर्को बैठकमा निर्णय हुनेछ ।’’

प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुङ्गिनसकेकाले बिहीबारसम्म मुख्यमन्त्रीहरूको पनि टुङ्गो लाग्ने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस !