८ असार २०८१, शुक्रबार
 |   Fri Jun 21 2024
Logo

नयाँ राजनीतिक शक्ति रास्वपा र उसको भोलिको अन्योल भविष्य !



देशमा विभिन्न कालखण्डमा जनताको पक्षमा तत्कालीन शासकहरुले केही गरेनन भन्दै धेरै प्रकारका जनविद्रोह र जनक्रान्तिहरु भए। ती जनविद्रोह र क्रान्तिहरुबाट उत्पादित नेतृत्वहरु सत्तामा पुगे। सत्तामा पुग्दा उनीहरुलाई त फाइदा नै भयो तर देश र जनताको अवस्था जहाँको त्यही रहिरह्यो।

यसरी विभिन्न कालखण्डका अनेक चरणहरु पार गर्दै देशमा २ सय ४० वर्षको राजसंस्थाको विषर्जनसङ्गै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र अगाल्न पुग्यो। जुन देश र जनताको लागि स्वर्णिम युग हुनेछ भनेर कल्पना गरिएको थियो र जनतालाई सपनापनि त्यस्तै देखाइएको थियो। आज मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेकै लगभग १६- १७ वर्षभन्दा बेसि भइसकेको छ। तर देश र जनताका समस्या जहाँका त्यही छन्। युवाहरू रोजगारी नपाएर विदेशिनु पर्ने विकराल अवस्था छ। युवाहरू विदेशिनु भनेको देश निर्माणको लागि चाहिने मुख्य साधन श्रोत नै गुमाउनु हो।

देशमा युवाहरूले आफ्नो पढाई, लेखाइ अनि सीप अनुसारको रोजगारी नपाउदा उनीहरूमा एकप्रकारको देशप्रेम नै भङ्ग भएको अवस्था छ। उनीहरूले जीवन निर्वाहको सजिलो उपाय विदेशमै देखेकाले हुलका हुल युवाहरू पलायन हुन लामवद्द छन। यसको मुख्य जड देशमा जनताको नाममा भएको राजनीतिकसङ्गै व्यवस्था परिवर्तनले सिमित नेता र तिनको कोटरी भन्दा दायाँबायाँ कसैको हितमा काम नहुनु हो।

जुन पार्टी सत्तामा पुगेपनि सबैको कार्यशैली एउटै प्रकारको हुनुले पुराना राजनीतिक शक्तिहरुसङ्ग आमनागरिकले बाध्यात्मक सम्बन्ध मात्रै बनाएको देखिन्छ। समयको क्रमसङ्गै जनताले वैकल्पिक शक्ति चाहिरहेका थिए।

यसै क्रममा मिडिया क्षेत्रमा जनताको पक्षमा जोडदार रुपमा आवाज उठाउने एक पात्र रवि लामिछानेको नेतृत्वमा नयाँ राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गठन भयो। गठन लगत्तै २०७९ को आमनिर्वाचनमा होमिने आट गरेको देख्दा युवा जमात लगायत पुराना शक्तिहरुबाट आजित व्यक्तिहरु नयाँशक्तितिर आकर्षित भए। पहिलो प्रयासमा राम्रो मतसङ्गै शहरका मुख्य ठाउँहरुमा केही सिट जित्न पनि सफल भए। जनताले अब नयाँ वैकल्पिक शक्ति आयो भन्ने अनुभूति पनि गरे।

देशमा पूर्ण बहुमत कुनै पार्टीको नआएको हुँदा मिलिजुली सरकार बन्नु पर्ने अवस्था आयो। नयाँ शक्तिको रुपमा उदाएको रास्वपाले सरकारमा जाने अवसर पायो। रास्वपाबाट गृह र उपप्रधानमन्त्री सहित नेतृत्व स्वयं रवि लामिछानेले नै गरे। त्यसपछि नक्कली पासपोर्ट मुद्दा उठ्यो। जसको कारण मन्त्री पद मात्रै हैन सांसद पद नै गुमाउनु पर्यो।

मुद्दा सल्टिसकेपछि पुरानै निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा होमिए भने दोश्रो चोटि अझै बेसी मतका साथ जित हासिल गरे। त्यसपछि सत्ता समीकरणमा भएको फेरबदलसङ्गै पुरानै पद प्राप्त गर्न सफल भए।

यी त छोटो समयमा रास्वपाको नेतृत्वमा भएको संघर्ष र उथलपुथलको कुरो भयो। अब रास्वपाको राजनीतिक दृष्टिकोण के हो त भन्ने वारेमा चर्चा गरौं।

रास्वपाले अहिलेसम्म आफ्नो स्पष्ट राजनीतिक दृष्टिकोण र सिद्धान्त परिभाषित गरेको देखिदैन।

नयाँ वैकल्पिक शक्तिको रुपमा आफुलाई दावी गर्ने रास्वपाले यी ६ सिद्धान्तहरु जनतालाई स्पष्ट पार्न जरुरी देखिन्छ।

१- रास्वपाको राजनीतिक दृष्टिकोण के हो? रास्वपा प्रजातान्त्रिक पार्टी हो कि कम्युनिष्ट विचारधारा बोकेको पार्टी हो? अहिलेसम्म स्पष्ट हुन सकेको छैन। रास्वपाले भोलिको नयाँ र वैकल्पिक शक्तिको रुपमा आफुलाई उभ्याउने हो भने राजनीतिक दृष्टिकोण स्पष्ट गर्न जरुरी देखिन्छ।

२- नेपाल जस्तो भूराजनीतिले गाजेको देशमा उसको विदेशनीति अथवा प्रराष्ट्रनीति के हो? यो पनि स्पष्ट गर्न जरुरी छ। उत्तर र दक्षिणतिर विश्वशक्तिको रुपमा उदाइरहेका विशाल देशहरु छन। त्यस्तै संसार हल्लाउने बलिया आकाशका छिमेकी राष्ट्रहरु छन। यसमा देशको स्वार्थ र हितलाई केन्द्रबिन्दुमा राख्दै आफ्नो विदेशनीति स्पष्ट गर्दा जनतामा एकप्रकारको लहर पैदा हुन सक्छ। जुन रास्वपाको लागि नितान्त जरुरी छ।

३- देशको आर्थिक नीति कस्तो हुने भन्ने कुरामा स्पष्ट हुन जरुरी छ। हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई कसरी आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिन्छ भन्ने कुरा जनतालाई स्पष्ट पार्न जरुरी देखिन्छ। उद्योगधन्दा, कलकारखाना लगायत कुराहरुको विकास हुन नसकिरउहेको अवस्थामा वैकल्पिक उपायहरु के हुन सक्छन त? रास्वपाले यो कुरामा आफ्नो रोडम्याप क्लियर पार्न सक्नुपर्छ।

४- सामाजिक सुरक्षा नीति कस्तो हुने भन्ने स्पष्ट गर्न जरुरी छ। यहाँ जनताको मात्रै हैन राज्य आफ्नै एकदमै न्यून आय छ। राज्य सेवा र वस्तुको उत्पादनको बिक्रीबाट हुने आम्दानीभन्दा पनि राजस्वबाट उठ्ने आम्दानी र वैदेशिक सहायतामा पूर्ण निर्भर छ। यस्तो अवस्थामा सामाजिक सुरक्षाका चीजहरु जस्तै शिक्षा, स्वास्थ्य र अन्य सामाजिक उत्तरदायित्व बहन हुने जस्ता कुराहरू कसरी निशुल्क र गुणस्तरीय दिन सकिन्छ भन्ने खाका जनतालाई स्पष्ट गर्न जरुरी छ।

५- देशमा युवा पलायन विकराल रुपमा रहेको छ। यसको लागि देशमै रोजगारीको अवसरको लागि कस्तो नीति अख्तियार गर्ने हो भन्ने कुरा जनतालाई स्पष्ट पार्न जरुरी छ।

६- आफ्नै पार्टी संचालन, सङ्गठन विस्तार लगायत पार्टीका कार्यक्रमहरु संचालनको लागि चाहिने आर्थिक श्रोत सांसदहरुबाट उठ्ने लेबि, चन्दादाताहरुको दान मात्रै हो कि अन्य वैकल्पिक आधारहरु पनि छन? यी कुराहरु पारदर्शिताका साथ जनता समक्ष स्पष्ट राख्न जरुरी छ।

पुराना शक्तिहरुबाट जनताले लगभग आशा र भरोसा गर्न छोडिसकेको अवस्था छ। यस्तो अवस्थामा रास्वपाले आफू र आफ्नो नेतृत्वमाथी लागेका आरोपहरुलाई चिर्दै जनतालाई आफ्नो स्पष्ट दृष्टिकोण सहित वास्तविक वैकल्पिक शक्ति बन्ने खाका पस्किन सक्ला त? के साच्चिकै देश र जनताको उज्ज्वल भविष्यको सहयात्री बन्न सक्ला त? समयक्रमसङ्गै हेर्न बाकी नै छ।

– सम्पादकीय


प्रतिक्रिया दिनुहोस !