१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

पाँच दिनमै झण्डै २०० अंक घट्यो सेयर बजार, कारोबार रकम भने १२ अर्बहाराहारी



सेयर बजार लगतार पाँच दिनसम्म ओरालो लाग्दा अहिलेसम्मकै उच्चतम विन्दुबाट झण्डै २०० अंकले तल झरेको छ।

३०२५ अंकको उच्चतम विन्दु छोएयता पछिल्लो पाँच कारोबार दिनमा बजार सूचक नेप्से २८३४ मा आइपुगेको हो। यसबीचमा दुई दिन सामान्य मात्रै घटेको बजार बाँकी ३ दिन भने ५२ देखि ७२ अंकसम्मको फराकिलो अन्तरले घटेको छ।

धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा कम्पनीलाई जोखिमपूर्णको सूचीमा राखेर विज्ञप्ती सार्वजनिक गरेपछि बजार लगातार पुँजी बजार ओरालो यात्रामा लागेको एकथरी लगानीकर्ताहरुको भनाइ छ।

तर बजार घट्नुमा बोर्डको नकारात्मक सूची मात्रै कारक नभएर तरलता असहज हुँदै जानु र निषेधाज्ञा खुकुलो हुनु पनि कारण रहेको अर्काथरी लगानीकर्ताहरु बताउँछन् ।

यद्यपि पछिल्लो एक वर्षमा दोब्बर हाराहारीले सेयर बजार सूचक बढेर तीन हजार माथिको उचाइमा पुगेकाले अहिलेको करेक्शन सामान्य रहेको केही बजार विश्लेषकको भनाइ छ। सेयर बजार विश्लेषक बिष्णुप्रसाद बस्याल भन्छन्,  ‘एक वर्षदेखि बढेको बजारमा ठूलो करेक्सन नआएकोले अहिलेको करेक्सन स्वभाविक हो ।’

बजार २५ सय विन्दुबाट माथि गएपछि एकपटक १५/२० प्रतिशतसम्म घटेपछि मात्रै बजार बलियो हुने धारणा राख्दै आएका बस्याल यतिबेलाको करेक्सनमा २० प्रतिशतसम्म बजार तल आउन सक्ने अनुमान गर्छन्।

‘बजारले तीन हजार विन्दु पार गरेपछि मात्रै करेक्सन देखिएको छ। अहिले पनि बजार १० प्रतिशत घटेर फर्किन्छ वा २० प्रतिशतसम्मै घट्छ भन्ने हेर्न बाँकी छ,’ बस्यालले भने, ‘१० प्रतिशत मात्रै घट्दा एकदेखि डेढ महिनाकै बीचमा बजार फर्किन सक्ने र १० प्रतिशतभन्दा बढी घटेको खण्डमा भने बजार तीनदेखि चार महिनापछि मात्रै फर्किन सक्छ।‘

तर अहिले ५/६ प्रतिशत बजार घट्दैमा बुलिस ट्रेण्ड सकिएको रुपमा भने ब्याख्या गर्न नहुने उनी बताउँछन्। अझै करिब दुई वर्षसम्म बुलिस ट्रेण्ड नै रहने र यो बीचमा २/४ महिना तलमाथि भएर बजार अघि बढ्ने उनको व्याख्या छ।

व्यापार व्यावसाय खुला हुने भएपछि सेयर बजारबाट लगानीकर्ताहरु बाहिरिने र आफ्नै व्यापार व्यावसयामा फर्किने भएकाले पनि अहिले सूचकसंगै कारोबार रकम पनि दिनदिनै घटिरहेको समेत लगानीकर्ताहरुको भनाइ छ।

सोमबार बजारमा २२७ कम्पनीको साढे ११ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार भएका मध्ये चार कम्पनीको मात्रै मूल्य बढेको छ । जसमा नारायणी डेभलपमेन्ट बैंकको करिब १० प्रतिशत र एचआइडिसिएलको चार प्रतिशतले सेयर मूल्य बढेको हो । चारबाहेक अन्य  सबै कम्पनीको सेयर मूल्य घटेको छ।

पोखरा फाइनान्स र युनिभर्सल पावरको सेयर मूल्य १०/१० प्रतिशतले घट्दा युनियन हाइड्रो, हिमाल दोलखा र लिबर्टी इनर्जीको सेयर मूल्य ८/८ प्रतिशतले घटेको छ।

सबै उपसमूह रातो भएको बजारमा आठ उपसमूह सय अंकभन्दा धेरैले घटेका छन्। जीवन र निर्जीवन बीमा समूह ४५१ र ४२९ अंकभन्दा धेरै घट्दा, विकास बैंक २१० अंक, उत्पादन समूह १७१ अंक, होटेल तथा पर्यटन १६५ अंक, फाइनान्स १२० अंक र लघुवित्त समूह १०५ अंकले घटेका छन्।


प्रतिक्रिया दिनुहोस !