२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

आईजीपीमा ३ एआईजीको कडा टक्कर : ज्ञवाली र थापाको पक्षमा प्रचण्ड, कुँवरको लबिङमा कांग्रेस



काठमाडौं । नेपाल प्रहरीमा भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन एआईजीबीच कडा टक्कर देखिएको छ। आईजीपीका लागि प्रमुख दाबेदार मानिएका अशोक सिंह उमेर विवादका कारण डीआईजीबाटै राजीनामा दिन बाध्य भएपछि वसन्त कुँवरलाई प्रमुख दाबेदार मानिएको थियो। तर अन्तिम समयमा चौथो नम्बरमा रहेका श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने लाइनमा अगाडी देखिएका हुन्। ज्ञवालीले एआईजी सिफारिस भएसँगै शक्तिकेन्द्रमा लबिङ बढाएका थिए। उनको लबिङले पहिलो नम्बरमा रहेका कुँवर र तेस्रो वरियतामा रहेका दीपक थापालाई तनाव दिएको छ।
सरकारले शुक्रबार आईजीपी बढुवा गर्नेछ।

शनिबारदेखि हालका आईजीपी धिरजप्रताप सिंहको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनेछ। सिंह अन्तिम समयसम्म पनि ३० वर्षे हटाएर आईजीपीमा निरन्तर हुने कोसिसमा छन्। तर उनको प्रयास सफल हुने सम्भावना झिनो बन्दै गएको छ। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्यामलाल ज्ञवाली वा दीपक थापालाई आईजीपी बनाउने पक्षमा छन्। तर नेपाली कांग्रेस पहिलो नम्बरका वसन्त कुँवरलाई नै आईजीपी बनाउनु पर्ने पक्षमा देखिएको छ। यस्तै, तेस्रो नम्बरमा रहेका दीपक थापा पनि आफू नभए कुँवर नै आईजीपी हुनु पर्ने पक्षमा छन्।

कुँवर डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका थिए। यही सरकारले उनलाई पहिलो नम्बरमै एआईजीमा पनि बढुवा गरेको छ। तर आईजीपी वरियता अनुसार नै हुन्छ भन्ने निश्चित छैन। यसअघि पनि पछिल्लो वरियताकालाई सरकारले आईजीपी बनाएको थियो। कांग्रेस निकट मानिने कुँवर कांग्रेस सरकारमा फर्किएसँगै आईजीपी बन्ने सम्भावना बढी छ। वरियतामा अगाडी भएकाले पनि उनको सम्भावना सबैभन्दा बढी छ। तर ज्ञवालीले माओवादीका नेताहरुलाई भेटेर कन्भिन्स गरेका छन्।

कुँवर र ज्ञवालीको टक्कर बढेपछि थापा पनि आफैं आईजीपी बन्न लबिङमा छन्। थापा उनीहरूभन्दा ५ महिनापछि भर्ना भएका हुन्। यी दुईमध्ये एक आईजीपी बने भनेपनि त्यसपछिका लागि थापा आईजीपी हुने सम्भावना कायम रहन्छ। यही बीचमा ३० वर्षे हट्ने भएकाले पनि थापाको आईजीपी बन्ने सम्भावना हुन्छ। तर उनी पनि यसैपटक आईजीपी बन्न कोसिस गरिरहेका छन्। आफूभन्दा पछिल्लो ब्याचका एआईजीहरू भावी नेतृत्वका लागि अग्रसर हुँदा दोस्रो वरियतामा रहेका एआईजी टेकप्रसाद राई भने चुपचाप देखिएका छन्। वसन्त कुँवरपछि वरियतामा राई अगाडी छन्। हालको सत्ता गठबन्धनले उनलाई आईजीपी बनाउने सम्भावना कम छ। त्यसो त राईले पनि लबिङ गरेका छैनन्। हालका आईजीपीसँगै उनका ब्याचका एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी शुक्रबारदेखि अवकाश हुनेछन्।


प्रतिक्रिया दिनुहोस !