एजेन्सी । भारतीय अभिनेता प्रभास अभिनीत फिल्म आदिपुरुष बन्ने घोषणा भएसँगै चर्चामा थियो। यो फिल्म कहिले प्रदर्शन हुन्छ भनेर दर्शकहरू प्रतीक्षामा थिए तर फिल्मको टिजर सार्वजनिक भएपछि प्रशंसाभन्दा आलोचना खेप्नुपर्यो। फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने। भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो।
त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए। नकारात्मक टिप्पणीपछि निर्माण टिमले पुनः भिएफएक्स गरेर ट्रेलर सार्वजनिक गरिसकेका छन्। भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार फिल्म ५ सय करोड भारूमा बनेको हो। योसँगै ुआदिपुरुष भारतकै महंगो फिल्म सावित भएको छ। महंगो बजेटमा बनेको फिल्मले आफ्नो ८५ प्रतिशत लगानी पनि उठाइसकेको छ। डिजिटल राइट्स, म्युजिक राइट्स, र थिएट्रिकल राइट्स बेचेर फिल्मले ४३२ करोड भारू कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यम बलिउड हंगामामा उल्लेख छ।
योसँगै ६८ करोड भारू मात्र कमाए पनि फिल्मले लगानी उठाउने छ। हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुने फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म जुन १६ देखि प्रदर्शन हुँदैछ।