११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

“नेपाल सरकारको कर्मचारीको यो स्केलको तलबमानले देश- विदेशमा आत्मसम्मान दिँदैन”



भीम उपाध्याय- पूर्व सचिव तथा अभियन्ता 

कर्मचारीका तलब वृद्धि कि प्रोत्साहन भत्ता ?

हिजोको दिनको तुलनामा हामीले अहिले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको अभ्यास गरिसकेका छौं । वस्तुगत कार्यसम्पादन सुचकांकको अभावमा यो शक्ती र सम्बन्धको आधारमा लागु गरियो र यसबाट काममा गुणस्तरीयता भन्दा पनि विवाद धेरै भयो । निरीह र यसको आवश्यकता भएका फ्रन्टलाइनमा काम गर्ने कर्मचारी र कार्यालयले यो प्रोत्साहन भत्ता कुन चराको नाम हो पत्तै पाएनन । त्यसैले अहिलेकै मापदण्ड, मूल्यांकन आधार र कार्यालय छनोट गर्ने प्रक्रियाको आधारमा यो प्रणाली लागु गर्दा अपेक्षित नतिजा प्राप्त गर्न कुनै हालतमा सकिन्न । यो प्रणाली लागू गर्नुभन्दा पहिले जीवन निर्वाहको लागि पर्याप्त पुग्ने न्यूनतम तलबमान निर्धारणको खाँचो छ । त्यसपछि मात्र कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली सेवा प्रवाह गर्ने प्रन्टलाइन कार्यालयमा लागू गर्नु उपयुक्त देख्छु । हाम्रो जस्तो विधी, पद्धती र प्रणालीलाई नै धोती लगाइदिने मुलुकमा यसतर्फ फड्को मार्नु भन्दा पहिले पटकपटक सोच्नुपर्छ जस्तो लाग्छ ।

एकातिर राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादनमा गुणात्मक वृद्धि र मनोबल उच्च बनाउन तलब सुबिधामा यथेष्ठ वृद्धिको खाँचो छ भने अर्कोतिर मुलुकको क्षमता, आर्थिक अवस्था, राजस्व संकलनमा वृद्धि, सरकारको अनिवार्य दायित्वमा भएको निरन्तर वृद्धिलाई पनि नजरअन्दाज गर्न सक्ने देखिँदैन । विभिन्न समयमा कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न आयोगहरु गठन भए र महत्वपूर्ण सुझाव पनि दिए तर सरकारले ती सबै प्रतिवेदन दराजमा थन्काएर राख्ने र टालटुले किसिमले तलब वृद्धि गर्ने बाहेक अरु केही गरेन । तर, अहिलेको परिस्थितिमा धेरै बदलाव आएको छ । मुलुक संघीय शासन प्रणालीमा रुपान्तरण भै सकेकोले प्रदेश, स्थानीयतहमा कार्यरत कर्मचारी एवम् शिक्षक, प्राध्यापक लगायतको स्तर तथा तलबमान पनि संघीय निजामती र सुरक्षा निकायका कर्मचारीसँगसँगै वैज्ञानिक आधारमा पुनरावलोकन गरी नयाँ ढंगबाट निर्धारण गर्नुपर्ने देख्छु । त्यसैले यस्तो अवस्थामा यस वर्ष सरकारले जेजति वृद्धि गर्न सक्छ, बृद्धि गर्नुपर्छ ।

त्यत्रो समय र लगानी खर्च गरेर देश विदेशमा बर्षौं लगाएर घुंडा धसेर १६/१६ वर्ष पढेर, तालिम लिएर, गाँउगाँउ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर, अध्ययन सक्याए पछि लोकसेवा लड्दै पास गरेर सुरु गरेको सरकारी जागीरमा के छन् त सुबिधाहरु ? न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउनलाइ राम्रो स्कूल छ । न खेल्ने मनोरंजन गर्ने कुनै साधन छ । ईमर्जेन्सी परेर रोगले च्याप्यो भने राम भरोसामा पर्नुपर्छ । सधैं परिवारसंग अलग्गिएर, सरकारी जागिर आजसम्म खाएकाहरू अझ अलिकति दुर्गम ठाउमा नियुक्ति पाएका अधिकाँश कर्मचारीले यस्तै जागिरे जीवन व्यतित गरेका हुनुपर्छ ।

म आफ्नै कुरा भन्न चाहान्छु, मैले ०४३ सालमा ईन्जिनियरको जागिर सुरूगर्दा एक हजार तीनसय रुपैया मेरो तलब थियो त्यतिबेला करिव यो एकसय डलर बराबर हुन्थ्यो त्यो पैसाले आधा तोला सुन आउथ्यो । झन्डै तीस वर्षपछि विशिष्ट श्रेणीको सचिव भएर जागिर छाड्दा रू ५१ हजार तलब बुझें, यो ५०० डलर बराबर र १२ आना सुन किन्न सम्म पुग्छ । जागिर सुरू गर्दा एक्लो थिए, जागिरको अन्तिमतिर हुर्केका परिवार चार जनाको भयो । नेपालको विकट भुगोल र असुविधामा न्युन तलबको सरकारी जागिर खानु दुस्साहससरह नै लाग्छ मलाई अहिले सम्झदा, जाजरकोट, डोटी, बैतडी, गुल्मी त्यो वेलाको ! तर अचम्म लाग्छ, म कसरी टिकेछु जागिरमा, यही मुलुकमा, आजसम्म पनि कसरी टिक्न सकें ? फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ घरिघरी !

अलिकति नयाँ पुस्ताको नजर बाट नेपाल सरकारको तलवमानलाइ हेर्ने हो भने नयाँ पुस्ताले गर्ने साधारण पकेट खर्च जस्तो देखिन्छ यहाँको सरकारी तलव । मेरा दौंतरी ब्रिलियन्ट साथीहरू अधिकाँस विदेश पलायन भए, मलाई पनि उकास्थे विदेश आउन तर के भयो के, गईएन, यही लडन्त भिडन्त गरियो । के गरियो, गर्न सकियो वा सकिएन वा गरिएन अहिले मतलब पनि छैन । सन्तुष्ट नै छु आजका दिनमा ! मेरो नजरमा जे कुरा राष्ट्रसेवा थियो त्यो मैले गरें । देश सेवालाई पारिश्रमिकसंग तुलना गरिएन अथवा थोरै पारिश्रमिकमा पनि कर्तव्यबोधको कारणले गर्दा चित्त बुझाइयो अथवा यस्तै केही भयो ।

तर दुःख लाग्छ आफ्नै बालबच्चा नेपाल बस्न योग्य हुन छाडेको छ, नयाँ पुस्ता सरकारी जागिरमा आकर्षण देख्दैनन् । विदेशमा मनग्यै अवसर देख्छन् किनभने नेपाल बस्नु पेशा हैन, त्याग मानिन्छ । जीवनभरि ईमान्दार बनेर अन्तिममा भीखमंगा सरह हुनुपर्छ, न आफ्नो न परिवारको भरणपोषण गर्न सकिन्छ, न अवकाश पछिको जिन्दगीलाई सुरक्षित नै पार्न सकिन्छ ! जागिरे भनेको कुनै सामाजिक ईज्जत नभएको सन्यासी र जोगी जस्ता निरीह देखिदै गईरहेका छन् नयाँ पुस्ताका नजरमा ! तर अहिलेका पुस्ताको सोच छ– त्याग गर्न नपरेसम्म किन त्याग गर्ने ? के का लागि गर्ने? भन्ने भनाई पनि सही नै हो ! नयाँ सोचले नयाँ पुस्ताको जीवनस्तर पनि नयाँ खाले नै बनाएको छ । उनीहरु छातीमा ठुलो देशप्रेम बोकेर बिदेशिएका छन् । देशको सम्झना गर्दै स्तरीय कमाइ गरेका छन् । केही युवाहरु पछुताएका पनि होलान् । देश भित्रै केही गर्न सकिएन भनेर तर जति पलायान भएका छन् ती व्यक्तिहरु प्रायः सन्तुष्ट छन् ।

कर्मचारीको तलव किन बढाउने ?

सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ, नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ, बजारभाउ वार्षिक ६ प्रतशितले बढेको छ भने मुद्रा अवमुल्यन १० प्रतिशत भइरहेको छ । बौद्धिक वर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुँदा विदेश पलायन हुने भय रहन्छ । तलब कम हुँदा प्रतिभावान र शहरीया सक्षम युवा जागिरमा आकर्षित नभई दिँदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ । न्युन तलबले अनियमित आम्दानी गर्न उक्साइरहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाव थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाइरहेको छ । पर्याप्त जीविकोपार्जन गर्ने तलब दिन सक्दा मात्र इमान्दार र सक्षम कर्मचारीले गलत तत्वसँग भिडेर सरकारी संयन्त्रलाई सफा राख्ने आँट देखाउन सक्ने हुन्छ । अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रि र पोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ । साथै कर्मचारीहरू मन्त्री नेताहरूसँग राष्ट्रहितमा आँखा जुधाएर काम गर्न सक्नेछन् ।

पर्याप्त तलब भएमा मुलुकभित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बुढाबुढीहरूको हेरचाह र आफू बुढाबुढी हुँदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउँदा समाजमा खुशी शान्त र सुखी आदर्श महसुस गर्नेछ । तलवमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबीच करिब ५ देखि १० गुणा हुनुपर्छ । करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो। कर्मचारी हुँ भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलवमानले आत्मसम्मान दिँदैन । तलब भीख होइन, बौद्धिक परिश्रमको मूल्य हो। थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउँछ। विदेशीको अगाडि नेपालीको बुद्धि नै हुँदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउँछ ।

शीर उच्च राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ । जागिर पेशा हो र जुनकुनै पेशाले पनि जीवन परिपूर्ण पार्नसक्ने हुनैपर्छ। बलिदान, त्याग, जीवनभरि पिलन्धरे रूवाई, पद्धति, टीठलाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाइएन भने राज्य सञ्चालनको केन्द्रविन्दू चालक रहने कर्मचारीबिना मुलुक उँभो लाग्दैन । दूध खान मन हुनेले गाईलाई हरियो घाँस र दानापानी पर्याप्त दिनुपर्छ । नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापेजस्तो हुनेछ । पुग्ने तलब दिइयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सरकारले सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ । कर्मचारीलाई गलत काम गरेकोमा गालीमात्र गर्ने होइन, सही काम गर्ने पूर्वाधार पनि बनाइदिएकै हुनुपर्छ । सरकार तलबबारे यसमा केही गर्न असमर्थ छौं, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष्य पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन । चालकरूपी कर्मचारीलाई भोकभोकै राखेर हाइवेमा तीब्र गतिमा गाडी हाक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिशुलीमा जाक्नुसरह हो, त्यही गर भनेसरह हो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: