Friday, January 24, 2025

ट्रेन्डिङ :

सामाजिक सञ्जालमा भाइरल भ्रमित बिधि : ल्वाङ–कपुरले बढ्दैन अक्सिजन लेभल

spot_img
spot_img
spot_img

काठमाडौँ । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराउनुभएको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउनुभयो । उहाँले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रामक सूचनामा भर परेर अक्सिजन बढाउने भ्रामक विधि अपनाइरहेको बताउनुभयो ।

गलत प्रयोग
आफूलाई चिकित्सक बताउने एक व्यक्तिले अक्सिजन सिलिन्डरको साटो औषधिलाई मसिनो गरी छर्कन मिल्ने एक उपकरण नेबुलाइजरबाट अक्सिजन लिन सकिने भनेर गरेको दाबी सामाजिक सञ्जालमा फैलिएको छ । फेसबुक, ट्विटर र ह्वाट्सएपमा फैलिएको सो पोस्टमा एक व्यक्तिले हिन्दीमा ‘हाम्रो वातावरणमा प्रशस्त अक्सिजन रहेको र त्यसलाई नेबुलाइजरले दिन सक्ने’ भनेका छन् ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेले नेबुलाइजरको कुरामा कुनै पनि सत्यता नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नेबुलाइजरको मास्कमा दुईवटा प्वाल हुन्छन् । त्यसबाट अक्सिजन बिरामीसम्म पुग्दैन । बिरामीलाई स्वाँस्वाँ हँुदा वा दमको बिरामीलाई औषधि दिन प्रयोग गरिन्छ । यसबाट अक्सिजन दिन सकिँदैन । ”

उहाँका अनुसार कहिलेकाहीँ अक्सिजन दिँदा मास्क लिक भए नभएको हेर्नुपर्ने हुन्छ र अक्सिजन दिने पनि विधि हुन्छ ।

झन् समस्या
कपुर, ल्वाङ, ज्वानो र कपुर तेल मिश्रणले कोभिडका बेला अक्सिजन स्तर बनाइराख्न सघाउने दाबी गरिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले त्यसले कोरोना सङ्क्रमितलाई सहयोग पु-याउने कुनै वैज्ञानिक प्रमाण नभएको बताउनुभयो ।

उहाँले घरमा आइसोलेसनमा बसेका सङ्क्रमितले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि मात्रै गर्नुपर्ने बताउँदै कपुरको तेल छालाको क्रिम तथा मलममा प्रयोग हुने भएकाले यसको सेवन हानिकारक हुनुका साथै बढी प्रयोग गरे जटिल समस्या आउन सक्ने पनि बताउनुभयो । उहाँका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले कपुर गन्ध फोक्सोमा पुग्दा हानि गर्नसक्ने चेतावनी दिएको छ ।

दाबी झुठो
आयुर्वेदका चिकित्सक डा. जोशीले नाकमा दुई थोपा कागतीको रस हाल्दा अक्सिजन स्याचुरेसन स्तर बढ्ने दाबी झुठो भएको दाबी गर्नुभयो । कोभिडका कारण शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ ।

“अक्सिजनको स्तर लामो समयदेखि न्यून छ र त्यसको उपचार गरिएन भने शरीरका कोष आफँै काम गर्न बन्द गर्न थाल्छन् । यस्तो बेलामा जीवनरक्षक उपचार भनेको मेडिकल अक्सिजन दिनु नै हो,” डा जोशीले भन्नुभयो ।

फाइदाकारी विधि
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले बिरामीको शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने र यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुनसक्ने सुझाव दिनुभयो ।

डा. पाण्डेले घोप्टो परेर सुत्दा (प्रोनिङ पोजिसन) श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई फाइदा पुग्ने गरेको बताउँदै यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्ने बताउनुभयो । उहाँले थप्नुभयो, “कहिलेकाहीँ बिरामीलाई अक्सिजन दिएर मात्र पुग्दैन । त्यस्तो बेला हामी उहाँहरूलाई घोप्टो पार्छौं । यसो गर्दा फोक्सो फैलिन पाउँछ र अक्सिजनको मात्रा बढ्छ । ”

पानी खानु राम्रो
कोभिड सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कमी हुन नदिन चिकित्सकहरूले सल्लाह दिनुभएको छ । डा. जोशीले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउँदै पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको पनि बताउनुभयो ।

उहाँले झोलिलो खानेकुराहरू धेरै खानुका साथै टुसा उम्रिएको चना उमारेर झोल बनाउने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा सङ्क्रमितलाई राम्रो हुने बताउनुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?