१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

लोकसेवा आयोगद्वारा पदपूर्ति गर्नुपर्ने पदहरुको विवरण माग, रोकिएका छन् १८० भन्दा बढी परीक्षा



काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएको लोकसेवा आयोगको विज्ञापन र त्यसपछि गत चैत्र १० देखि पदाधिकारीबिहिन बनेको हुँदा लोकसेवा आयोगकको वार्षिक कार्यतालिका प्रभावित बनेको छ ।

गत चैत्र ११ बाट आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहित पाँच पदाधिकारीको पदावधि सकिएको थियो। झण्डै दुई महिना पछि लोकसेवा आयोगले अध्यक्षमा पूर्व सचिव माधव रेग्मी र आयुक्तमा हालै अवकाशप्राप्त सचिव माधव बेल्बासेलाई पाएको छ ।

रिक्त पदाधिकारीको नियुक्तिसँगै आयोगले कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन शुरु गरेको छ ।

आयोगले एक सूचना निकालेर पदपूर्ति गर्नुपर्ने पदहरुको विवरण पठाउन संगठन तथा सुरक्षा निकायसँग माग गरेको छ । आयोगले आर्थिक बर्ष ०७८/०७९ भित्र पदपूर्ति गर्नुपर्ने रिक्त पदको विवरण आगामी असार १५ गतेभित्र पठाउने सूचना प्रकाशन गरेको हो ।

यता आयोगका कार्यतालिका प्रभावित हुँदा हजारौं परीक्षार्थी मारमा परेका छन् । गत चैत्र अन्तिम बुधवार हुनुपर्ने खरदार (प्राविधिक) तर्फका २ वटा विज्ञापन आह्वान आयोगले गर्न सकेको छैन् ।

आयोगको कार्यतालिका अनुसार गत बर्ष चैत्र अन्तिम बुधवार राजपत्र अनङ्कित द्धितीत श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तह, (राजपत्र अनङ्कित द्धितीत श्रेणी (प्राविधिक) तर्फको विज्ञापनको कार्यपालिका रहेको छ। यी दुई परीक्षा आयोगले यस वर्षका लागि तय खुलातर्फको अन्तिम विज्ञापन हुन। यी पदहरूको विज्ञापन चैत्र अन्तिम साता आह्वान हुने,जेठमा परीक्षा सञ्चालन,असारमा नतिजा प्रकाशन र साउनमा अन्तर्वार्ता र सिफारिसको कार्यपालिका रहेको छ।

यस्तै गत बर्षकै खुलाइएको खरिदार (अप्राविधिक) तर्फको परीक्षा सञ्चालन हुन सकेको छैन। यस्तै आयोगका अनुसार १८० भन्दा बढी परीक्षा रोकिएका छन् ।

आयोगका अनुसार प्राविधिक तथा अप्राविधिक गरी सहसचिव तहसम्मका परीक्षा प्रभावित बनेका हुन। त्यस्तै ११ अप्राविधिक र २३ प्राविधिक पदहरूको विज्ञापनका नतिजा प्रकाशन समेत अन्योल बनेको छ। आयोगको संलग्नतामा हुने १६ निकायका परीक्षा अन्योलमा परेका छन्। प्रभावित बनेका निकायहरूमा नेपाल प्रहरी,नेपाली सेना,दुग्ध विकास संस्थान,राष्ट्रिय वाणिज्य बैङ्क,दुग्ध विकास संस्थान,नेपाल आयल निगम,बिमा समिति,काठमाडौँ उपतयका खानेपानी लिमिटेड,नेपाल धितो पत्र बोर्ड, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र,निक्षेप तथा कर्जा सुरक्षण कोष,राष्ट्रिय बिमा कम्पनी लिमिटेड तथा अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका संस्थाहरू रहेका छन्।-ईकर्मचारीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !