१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कांग्रेस सभापतिमा ७ जनाले उम्मेदवारी दिने, सबभन्दा बलियो उम्मेदवार शेखर कोईराला !



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी भदौमा हुने १४ औं महाधिवेशनका लागि कांग्रेसका संस्थापक कोइराला परिवारसँग जोडिएका नेता शेखर कोइराला सभापति पदका बलिया प्रतिस्पर्धी मानिएका छन् । अब चुनाव मुखैमा आएकाले शेखरले टीम बनाउने अभ्यास समेत थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीब्रता दिएका छन् भने उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा लड्न मिडियाबाजी गरिरहेका छन् । महाधिवेशनकै चर्चाबीच सोमबार उपसभापति निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेताहरूबीच आगामी महाधिवेशनमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।

चुनावी माहोलमा होमिएका शेखर कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगनकुमार थापालाई साथमा लिएर युवाको टीम बनाउने चर्चा छ । देउवा र निधि पक्षबाट उपसभापति र महामन्त्रीको को उठ्ने स्पष्ट छैन । तर देउवा पक्षमा उपसभापति र महामन्त्रीमा समेत धेरै आकांक्षी देखिएका छन् । आगामी महाधिवेशनमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले सभापतिमा उम्मेदवारी दिने चर्चा छ ।

कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा देउवा, पौडेल, कोइराला कुनै पनि पक्षमा सर्वसम्मत उम्मेदवार देखिएका छैनन् । कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसको नयाँ नेतृत्वमा सबैको चासो रहने गरेको छ । यसैबीच, सभापति देउवा पक्षकै उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने इच्छा देखाएका बेला दुबै नेताबीच देउवानिवास बुढानिलकण्ठमा गत शनिबार छलफल भएको थियो । तर छलफलमा दुबै नेताबीच कडा टक्कर हुने देखिएको थियो ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिमा दोहोरिन खोजेका देउवाले ७ वटै प्रदेशका आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् । देउवाले सामूहिक छलफलमा प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरूसँग आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्था पहिलो नम्बरमा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । देउवाले सबैलाई भनेका छन्, ‘तपाईंहरुले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको नम्बर १ पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जान्छु ।’


प्रतिक्रिया दिनुहोस !