१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

सीको भाषणले युरोपको सेयर मूल्यमा पहिरो, चार कम्पनीले एकै दिन ७० अर्ब डलर गुमाए



काठमाडौं : गत मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले एक बैठकमा बढ्दो आर्थिक असमानता र सम्पत्तिको पुनर्वितरणबारे एक भाषण दिए। त्यसलगत्तै युरोपका ठूला लक्जरी ब्रान्डहरुको सेयर मूल्यमा पहिरो गएको छ। त्यसयता युरोपका ठूला चार लक्जरी ब्रान्डले मात्रै ७० अर्ब डलर गुमाएका छन्। सीको भाषणलगत्तै एलभीएमएच, रिचमन्ट, एर्मेस र केरिङले सो रकम गुमाएका हुन्।

यी लक्जरी ब्रान्डहरुको व्यापारको ठूलो हिस्सा चीनले ओगट्छ। त्यसको पनि २५ प्रतिशत हिस्सा चीनका अत्यन्त धनी एक लाख १० हजार मानिसहरुले ओगट्छन्। विश्वभर बिक्री हुने विलासी सामानको ४५ प्रतिशत हिस्सा चीनमा जाने बताइन्छ।तर, चीनले समाजवादको उदेश्य प्राप्तिको लक्ष्य पुरा गर्न पछिल्लो समय बजार र अर्थतन्त्रमा लगाम कस्न खोजेको छ। यसले लक्जरी ब्रान्डहरुलाई धक्का लागेको हो। गत नोभेम्बरदेखि नै चीनका सबैभन्दा धनी उद्यमीहरुमाथि सरकारको दबाब बढ्र्द गएको छ। ज्याक माको आन्ट ग्रुपले जारी गर्न खोजेको ३७ अर्ब डलरको आईपीओलाई सरकारले रोकिदिएको थियो।

त्यसयता चीनले प्रविधि कम्पनीहरुदेखि लिएर शिक्षा क्षेत्रमा समेत अत्यधिक नाफा कमाइरहेका कम्पनीहरुमाथि कडाइ गरेको छ। पछिल्लो समय चीनमा आर्थिक असमानताले भयंकर रुप लिइरहेको आरोप लागिरहँदा राष्ट्रपति सीले यस्तो कदम चालेका हुन्। चीनको सुधारको सुरुवाती चरणमा पार्टीले केही व्यक्तिलाई ‘पहिले धनी हुन दिएको’ र अब ‘सबैको साझा समृद्धि’ पार्टीको प्राथमिकतामा परेको अधिकारीहरुले बताएका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !