१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

राष्ट्रिय वाणिज्य बैंकमा कांग्रेस निकट कर्मचारी आन्दोलित



काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकका नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलनमा उत्रिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखी बैंकको केन्द्रीय कार्यालय घेराउ गरेको हो। लामो समयदेखि दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको पुरानो सहमति बमोजिम कार्यान्वयन तथा व्यवस्थापन गर्नुपर्ने, कर्मचारीहरुको सरुवा बढुवा प्रक्रियालाई व्यवस्थित गर्न मापदण्ड तयार गर्नुपर्ने लगायत १५ वटा विभिन्न माग राखी आइतबारदेखि संघले आन्दोलन सुरु गरेको हो।

संघले विज्ञप्ति जारी गरी कर्मचारी सेवा विनियमावली समयमै संशोधन नगरी पदपूर्ति गर्ने प्रक्रिया अवरुद्ध भएको र यसले कर्मचारीको वृत्ति विकासमा अवरोध भई कर्मचारीहरुमा निराशा छाएको दाबी गरेको छ। संघका महासचिव मिलन नेपालका अनुसार व्यवस्थापनको कमजोरीका कारण राष्ट्रिय वाणिज्य बैंकको बजार प्रतिष्पर्धात्मक क्षमतामा पनि ह्रास आएको छ ।  उनले भने, ‘मानव संशाधन प्रणाली ध्वस्त हुनेगरी पछिल्लो समयमा बैंक व्यवस्थापनले कामहरु गरिरहेको छ, बैंकभित्र चरम राजनीतिकरण भएको छ भने प्रजातान्त्रिक धारमा आस्था राख्ने कर्मचारीहरुको तेजोवध हुनेगरी विभेदकारी रुपमा व्यवहार भइरहेको छ।

त्यस्तै पछिल्लो समय विना प्रतिस्पर्धा करार कार्यविधि विपरीत करारमा कर्मचारीहरु राखिएको, कर्मचारी सेवा विनियमावलीको विपरित हुने गरी धेरै कामहरु गरिएको भन्दै महासचिव नेपालले बैंक व्यवस्थापनले गरेको नीतिगत भ्रष्टाचार भएको दावी गरे। लामो समयदेखि उच्च व्यवस्थापनमा पदहरु खाली भए पनि अहिलेसम्म पदपूर्तिको प्रक्रिया अगाडि नबढाएको र यसले बैंकको वैज्ञानिक कार्य विभाजनको खिल्ली उडाइएको नेपालले दाबी गरे। त्यस्तै नेपालले बैंकको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई यस व्यवस्थापनले अत्यन्तै तल्लो स्तरमा झारेकोले दुःख लागेको पनि बताए। संघले विज्ञप्तिमार्फत आफ्ना मागहरु पुरा नभए थप आन्दोलनमा जाने चेतावनी पनि दिएको छ।


प्रतिक्रिया दिनुहोस !