२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

ओलीमाथि नेपालको हमला : ओलीका पालामा बाईडबडीजस्ता काण्डैकाण्ड देख्या छु



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले एमालेको नाम लिनेबित्तिकै सबैले नाकमुख खुम्च्याउने गरेको दाबी गरेका छन् । पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालय उद्घाटनपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधव नेपालले भने एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गरेका हुन् । उनले भने, एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको छ । जनताको नजरबाट तल खसिसकेको छ । यसको इज्जत प्रतिष्ठा गुमिसकेको छ ।’ कमजोर छ ।

त्यस्तै नेता नेपालले भने, आज देशको अवस्था किन यस्तो भयो एमालेको हविगत किन यस्तो भयो भनेर पहिल्याउनु पर्ने बेला भयो । अहिले एमालेको नाम लिनेबित्तिकै सबैले नाकमुख खुम्च्याउने गरेका छन् । केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको भन्दै उनले त्यसको जवाफ जनताले दिने बताए । ‘सांसदहरुले मेरो आदेश मानेनन्, म सबैको कत्लेआम् गर्दिन्छु भनेर (संसदको) हत्या गरियो । संसद भंगप्रति लक्षित गर्दै उनले भने, ‘कतिपय देशमा यस्ता संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ । हामीकहाँ पनि नेपाली जनताले सजाय दिँदैछन् ।’

काण्डैकाण्ड देख्या’छु, छानबिन होस् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको भन्दै छानबिन गर्न माग गरेका छन् । नेपाल एयरलाइन्स समेत बेच्न खोजेको भन्दै उनले यति समूहसँगको सम्बन्धबारे प्रश्न उठाए । ‘योभन्दा पहिलेको सरकार‘ भन्न पनि अप्ठ्यारो, एमालेको सरकार यति कम्पनीलाई कति काखी च्यापेको होला ? पूर्वप्रधानमन्त्री नेपालले भने, ‘त्यो (नेपाल) एयरलाइन्स पनि यतिलाई बेच्न खोज्याथ्यो । वाइडबडी खरिद भ्रष्टाचार भएको थाहा पाएको, तर छानबिनका लागि फाइल पठाउँदा सुनुवाइ नभएको उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे छानबिन बनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् ।

कोभिड महामारीको बेला पनि ओली सरकारले भ्याक्सिन ल्याउन कमिसनको चक्करमा किन ? अर्बौंको भ्रष्टाचारको कुरा तपाईं सुन्दै हुनुहुन्छ ? वाइडबडीको कुरा भो । किन छानबिन हुँदैन ? यसमा कसैको संलग्नता छैन भने छानबिन किन ? अगाडि नबढेको होइन भने कुरा उठिसकेपछि छानबिन गर्नुपर्दैन सरकारलाई भन्न चाहन्छु, प्रत्येकको छानबिन गर्ने काम शुरु गर्नुहोस् । देशलाई लुट्न पाइँदैन । कसले लुट्यो ? कसले लुटेन ? हामी अहिले भन्दैनौं । किनभने प्रमाणित नभएको कुरामा अरु बोल्न मिल्दैन ।

तर आफैं देख्या’छु वाइडबडीमा । आफैं देख्या छु विमान खरिदमा भ्रष्टाचार भएको । एउटा भाउ दिएको छ, पैसा त्योभन्दा बढी दिएको छ । हामीले फाइल पठाएका छौं, तर सरकारले फाइल दराजमा थन्काइदिएको छ । कराउँछौं, चिच्याउँछौं, सुन्दै सुन्दैन । समस्या कहाँ पर्‍यो भने न पार्टीभित्र सुनुवाइ छ न राज्यमा सुनुवाइ छ । किनभने जब निरंकुश प्रवृत्ति हाबी हुन्छ, जबसम्म जथाभावी हाबी हुन्छ । जब व्यक्तिवादी प्रवृत्ति हाबी हुन्छ, जब कसैलाई टेर्दैन । संविधानको माया हुँदैन । देशको माया हुँदैन । जनताको माया हुँदैन ।


प्रतिक्रिया दिनुहोस !