१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

सुकुमबासी बस्तीमा सरकारको ज्यादतीपछि झडप : ३ जनाको मृत्यु, १० जना घाईते



बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीको बीचमा झडपमा भएको छ । झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए ।

प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो । यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।


प्रतिक्रिया दिनुहोस !