१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

पलका म्यानेजर जोशीविरुद्ध अभियोग : सम्बन्ध राख्न सहज बनाइदिए, घटना लुकाउन भूमिका खेले



काठमाडौं । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीले किशोरीविरुद्ध भएको जबरजस्ती करणीको घटना लुकाउन भूमिका खेलेको दावीसहित जिल्ला अदालत तनहुँमा अभियोग पत्र दर्ता भएको छ ।

मंगलबार जबर्जस्ती करणी मुद्दामा शाहसँगै जोशीलाई पनि विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा जोशीले शाहसँग किशोरीलाई सम्बन्ध राख्न र नजिक हुन वातावरण बनाएको निष्कर्ष निकालिएको छ । शाहसँग घुम्न जाँदा उनले भनेको सबै कुरा माने भविष्य राम्रो हुन्छ भनेर किशोरीलाई प्रलोभन देखाएको पनि उल्लेख गरिएको छ ।

पीडित किशोरीको बुबाले दिएको पूरक जाहेरीमा पनि जोशीले शाहसँग ‘सम्बन्ध राख, तिमीलाई विवाह गर्छ, तिम्रो भविष्य राम्रो हुन्छ’ भनेर फकाएर एउटै कोठामा बस्न बाध्य पारेर जबरजस्ती करणी गर्ने व्यवस्था मिलाएको भनिएको छ ।

करणी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न र मिल्न दबाब पनि उनले दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । ‘मुख्य अपराधीलाई जोगाउन उनले आपराधिक षड्यन्त्रको कसूर गरेका थिए’ पूरक जाहेरीमा उल्लेख छ ।

शाहका म्यानेजर जोशी स्वयंले पनि बयानमा पीडितलाई प्रलोभनमा पार्न खोजेको स्वीकारेका छन् । उनले किशोरीबारे सूचना संकलन गर्न एक जनालाई प्रलोभन देखाएको पनि खुलाएका छन् ।


प्रतिक्रिया दिनुहोस !