१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

माधव नेपाललाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले राख्ने काँग्रेसको प्रस्ताव



काठमाडौं । काँग्रेस नेतृत्वको तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताएर राष्ट्रपतिमा साझा उम्मेदवारी दिन सैद्धान्तिक सहमति गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेता कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आ–आफ्नै अडानमा छन् । सोही कारण आज बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको झण्डै चार घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सहमति नजुटेपछि उम्मेदवारी मनोनयनको अघिल्लो दिन बिहानैदेखि छलफलमा जुटेका नेताहरु साँझ पुनः छलफल गर्ने सहमति गरेर उठेका हुन् । बताइएअनुसार काँग्रेस नेताहरुले आफूले राष्ट्रपति पाउनुपर्ने अडान राख्दा माओवादी, समाजवादी र जसपाका नेताहरुले माधवकुमार नेपालको नाम अघि सारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई राष्ट्रपति बनाउन बैठकमा औपचारिक प्रस्ताव गर्नुभएको बताइन्छ ।

बैठकपछि काँग्रेस महामन्त्री गगनकुमार थापाले दुईवटा प्रस्ताव आएको बताए । उनका अनुसार पुरानो गठबन्धन जोगाउन सबै दल सहमत भए पनि पात्रबारे भने काँग्रेस र अरु तीन दलको आ–आफ्नै प्रस्ताव छ । त्यसमा थप छलफल आवश्यक भएको तर एमालेलाई राष्ट्रपति नदिने विषयमा सबै दल सहमत भएको थापाले दाबी गरेका छन् ।

बैठकमा समाजवादीका अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री दिनेगरी काँग्रेसबाटै राष्ट्रपति बनाउने विकल्पमा पनि छलफल भएको बैठक स्रोतले बतायो । उक्त विकल्पमा स्वयम् नेपालसमेत सकारात्मक रहेकाले त्यसैको वरिपरी सहमति जुट्ने उक्त स्रोतको दाबी छ । यता प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तरतामा काँग्रेसको प्रतिबद्धता खोजेकाले समग्र शक्ति बाँडफाँड ‘प्याकेज’ मै टुंग्याउन थप छलफल आवश्यक परेको माओवादी स्रोतको भनाइ छ ।

साँझ बस्ने बैठकले बिहानको विकल्पमा सहमति जुटाए काँग्रेसलाई राष्ट्रपति र नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने लिखित समझदारी हुनेछ । त्यस्तै, जसपालाई उपराष्ट्रपति दिने विषयमा चारै दल लगभग सहमत देखिएका छन् । त्यसअनुसार सहमति हुँदा प्रचण्ड कम्तिमा तीन वर्ष प्रधानमन्त्री हुने र मन्त्रालयलगायत अन्य भागबण्डा पनि सहमतिका आधारमा टुंगो लाग्ने बैठकमा सहभागी एक जना नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !