२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

अर्घाखाँचीकै एक व्यक्तिको घरमा बसेका थिए टोपबहादुर



काठमाडौं । ११ दिनअघिदेखि फरार टोपबहादुर रायमाझीलाई प्रहरीले अर्घाखाँचीकै एक व्यक्तिको घरमा फेला पारेको छ। अर्घाखाँचीका घरभएका एक कार्यकर्ताको बूढानीलकण्ठस्थित घरमा लुकेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको छ। ‘उहाँलाई जिल्लावासिले नै सेल्टर दिएको पाइयो, अर्घाखाँचीकै एक व्यक्तिको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको हो। ती व्यक्ति उहाँकै कार्यकर्ता भएको बुझिएको छ’, प्रहरी उच्च स्रोतले भन्यो।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग गर्छु भन्दै रायमाझी भागेका थिए। उनलाई पक्राउ गर्न प्रहरीले देशभरका युनिटमा सर्कुलर गरेको थियो। भारत भागेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलि पनि परिचालन गरिएको थियो। रायमाझीले केही दिनअघि मात्रै आफू बिरामी रहेको भन्दै संसदमा पत्र पठाएका थिए। त्यसपछि प्रहरीले उनको खोजि थप तिब्र बनाएको थियो।

रायमाझीको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजी गर्दै प्रहरीले शनिबारदेखि उनलाई नै ट्रयाक गरेको थियो। तर रायमाझीले प्रहरीलाई नै झुक्याउने गरी मुभमेन्ट गर्दा पक्राउ गर्न समय लागेको प्रहरी स्रोतले बतायो। अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी वैशाख २० गते साँझ फरार भएका थिए। त्यसैसाँझ काठमाडौं फर्किने हवाई टिकट लिइसकेका उनले अन्तिममा टिकट रद्द गरेका थिए। त्यसै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई भने बुटवलबाट पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थीका नाममा रायमाझी बाबुछोराकै संलग्नता रहेको आरोप छ।

टोपबहादुर पक्राउ परेसँगै यो प्रकरणमा १३ जना पक्राउ परेका हुन्। यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परेका थिए। अझै केही फरार छन्। आइतबार मात्रै यसअघि पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिन म्याद थप गरेको छ।


प्रतिक्रिया दिनुहोस !