१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

देशमा सङ्क्रमणकालीन चुनौतीको सामना गर्नुपरिरहेको छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अझैपनि नेपाल अझै सङ्क्रमणकालीन चुनौतीबाट माथि उठ्न नसकेको बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले, नेपालले अझै परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना गर्नुपरिरहेको बताएका हुन् ।

उनले भने, ‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँहामीहरूले नै गर्नुपरेको छ ।’

समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानताका आधार तय गरेको भन्दै उनले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त व्यवस्था राष्ट्र निर्माणका लागि महत्वपूर्ण पक्ष भएको बताए ।

‘हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ ।’ राष्ट्रपति पौडेलले भने ।

उनले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने भन्दै राष्ट्रको समृद्धिका लागि प्राकृतिक स्रोतको मात्रै नभई ज्ञान, सीप र प्रविधिको विकासमा जोड दिए ।

विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको छ ।


प्रतिक्रिया दिनुहोस !