२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

ईपीएस बन्द गर्ने कोरियाको संकेत, नेपालले दुई पटक पठाएको पत्रको जवाफै दिएन



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सिप बिल्डिङको परीक्षामा अनुत्तीर्ण नेपालीले गरेको आन्दोलनका सम्बन्धमा नेपाली पक्षले दुई टक पठाएको पत्रका बारेमा मौन रहेको कोरियाले नेपाली कामदार नलैजाने चेतावनी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका एक उच्च कर्मचारीका अनुसार पछिल्लोपटक भएको छलफलमा कोरियाली पक्षले ईपीएसको विरोधमा गतिविधि भइरहे नेपाली कामदार रोक्न सक्ने चेतावनी दिएको हो।

दुई युवकको ज्यान जाने गरी गत शुक्रबार ललितपुरमा भएको घटनाबारे कोरिया सरकारले औपचारिक धारणा भने सार्वजनिक गरेको छैन। कोरियाली दूतावासले बालकुमारीमा घटना दुःखद् भएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना भने व्यक्त गरेको थियो। अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न पाउनुपर्ने माग राखी आन्दोलन गरेका थिए। उच्च अदालत पाटनले शुक्रबार नै आवेदन नरोक्न आदेश दिएपछि ईपीएस शाखाले फाराम खुलाएको छ। त्यसमा सन् २०२३ का अनुत्तीर्ण करिब ३२ हजार परीक्षार्थीले फाराम भर्न पाउनेछन्। फराम भर्ने काम भइरहेको ईपीएस शाखाले जनाएको छ।

विगतमा ईपीएससम्बन्धी आन्दोलन भए तत्काल समस्याको समाधान खोज्न कोरियाली दूतावास सक्रिय रहन्थ्यो। तर अहिले चासो नदिएको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन्। नेपालमा भइरहेको विरोधका बारेमा ईपीएस शाखाले दुईपटक पत्राचार गरे पनि कोरियाका रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया र एचआरडी सर्भिस अफ कोरियाबाट कुनै जवाफ नआएको ईपीएस शाखाका एक अधिकारीले जानकारी दिए। ज्ञापनपत्र तथा अदालतबाट आएको आदेशलाई समेटेर पत्राचार गरेको एक साता हुँदासमेत कोरियाले उत्तर नदिएको शाखाका ती अधिकारीले बताए। नेपालमा भएको आन्दोलन र अदालतको आदेशप्रति कोरिया सरकार असन्तुष्ट रहेको शंका सरकारी अधिकारीहरूको छ। आन्दोलनलाई कारण देखाएर पानीजहाजमा नेपाली कामदार नलिन र आन्दोलनलाई कारण देखाउँदै नेपालबाट कामदार लैजान रोक्न सक्ने श्रम मन्त्रालयकै उच्च कर्मचारी बताउँछन्।

ईपीएसको समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र सचिव केवलप्रसाद भण्डारी छलफलमा जुटेका छन्। मन्त्री र सचिवले नेपालस्थित कोरिया दूतावाससँग छलफल गरिरहेको श्रम मन्त्रालयले जनाएको छ। साथै पछिल्ला घटनाक्रमबारे कोरियाली पक्षलाई जानकारी गराउने काम पनि भएको छ। सबै देशहरूमा एउटै नियम लागू गरेर एकैपटक आवेदन र परीक्षा सञ्चालन भइरहेको छ। नेपालमा मात्र किन समस्या आइरहेको छ भनेर कोरियाली पक्षले छलफलमा समस्या औँल्याएको सचिव भण्डारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !