१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

माओवादीका केन्द्रीय नेता गगन पुरीविरुद्ध अर्को मुद्दाको तयारी



काठमाडौं । झापाको दमकस्थित रतुवा खोलाछेउको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियारले माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, उनको परिवारका सदस्य, झापाको मालपोत कार्यालयका कर्मचारी र बिचौलियाहरुमाथि हालै अनुसन्धान सकेर मुद्दा दर्ताको तयारी गरेको हो । ‘रतुवा खोला किनारको सार्वजनिक जग्गा रेवतराज पुरी (गगन) र उनको परिवारको सदस्यको नाममा ल्याई बेचविखन भएको उजुरीको अनुसन्धान गरिसकेका छौं’, अख्तियार स्रोतले भन्यो ‘छिट्टै यसबारे विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।’

गत आइतबार मात्रै पुरी र उनकी पत्नी केशावतीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै ४ करोड ३ लाख रुपैयाँ जरिवाना तोकेको छ । विशेष अदालतको फैसला अनुसार करिव ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीको ३ करोड ३२ लाख रुपैयाँ मात्र वैध हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानमा पुरीले एक लाख १० हजार वर्गमिटर क्षेत्रफलको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको फेला परेको थियो ।

उनले सरकारी जग्गा कायम भएको पैनी, झाडी, रतुवा खोला, दिपनी खोला र सडक गरी करिब २१६ रोपनी निजी जग्गा कायम गराएका थिए । अख्तियारको अनुसन्धान अधिकृतसहितको टोलीले विस्तृत अनुसन्धान गरेर गत साता नै प्रतिवेदन पेश गरिसकेको छ । पुरीले भने सुकुम्बासीको नाममा फिल्डबुकमा दर्ता भएको जग्गा आफूले किनेको दावी गरेका थिए । तर अख्तियार स्रोतको भनाइमा रतुवा किनारको सार्वजनिक जग्गा सुकुम्बासीको नाममा दर्ता हुने सम्भावना नै थिएन ।

अख्तियार स्रोतका अनुसार, काठमाडौंको बालुवाटारस्थित ललिता निवासकै शैलीमा योजनाकार, संलग्न कर्मचारीहरुलाई भ्रष्टाचारमुद्दा दायर गर्ने तयारी भएको छ । त्यस्तै जग्गा किनेकाहरुलाई पनि जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाउने तयारी छ । पुरी परिवारले आफ्नो नाममा गरेको सरकारी जग्गा करिब २०० जनाले किनेको पाइएको छ । झापाको बालुवाटार समेत भनिने त्यो ठाउँबाट सुकुम्बासीहरु विस्थापित भएपछि माओवादी नेता गगन पुरीले जग्गा आफ्नो नाममा ल्याएका थिए । अतिक्रमित जग्गामा पुरीले पार्टीको कार्यालय पनि स्थापना गरेका थिए । उनले ०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट दमक नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !