१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण : डा. शशांक कोइराला



नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन्।

बिहीवार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुने बताए।

उनले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताए। उनले ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्ने कुरा राम्रो नहुने बताए।

उनले भने, ‘धर्म सम्बन्धी एउटा कुरा हो । धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । धर्म स्वतन्त्र हुन्छ । तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौँ, यो गलत हो । हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । नेपाली काँग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन । चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ ।’
उनले चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताए।

कांग्रेस महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको  समसामयिक राजनीतिक प्रस्तावलाई केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रुप दिने निर्णय गरेको छ। त्यस्तै,  कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गरेको छ।  लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरेको छ।

महासमितिको बैठकका सहभागि केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, यातायात व्यवसायीहरु, कांग्रेस ललितपुरका सभापति, जनप्रतिनिधिहरु र सञ्चार माध्यमलाई धन्यवाद दिएको छ।

महासमिति बैठकबारे कांग्रेसले शुक्रबार दिउँसो पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी जानकारी गराउनेसमेत कांग्रेसले जानकारी दिएको छ। तीन दिनसम्म गोदाबरीमा चलेको कांग्रेस महासमिति बैठकमा २ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।  महामन्त्री थापाले आगामी चुनावमा कांग्रेस गठबन्धनबिनै होमिने प्रस्तावमा भने सभापति शेरबहादुर देउवाले आपत्ति प्रकट गरेका थिए


प्रतिक्रिया दिनुहोस !