१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

सरकारले धेरै राम्रा कामहरू गरेको छ: गृहमन्त्री श्रेष्ठ



उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्यहरू गरेको बताउनुभयो । 

उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठुला ठुला कार्य गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रस्ट पार्नुभयो । 

मन्त्री श्रेष्ठले भन्नुभयो–‘सरकारले सुरु गरेका सुशासनका काम पुरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडी झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइनेछ ।’

नेपाली काँग्रेससँगको वर्तमान सत्ता गठबन्धन पुरै अवधिका लागि जारी रहने जनाउँदै उहाँले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका सङ्केतहरू देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढी भन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरी बजेट ल्याउने छलफल चलिरहेको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु अति आवश्यक भएको जनाउँदै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गर्नुभयो । 

उहाँले व्यक्तिगत स्वार्थका लागि गरिने गुटबन्दी पार्टीका लागि सबैभन्दा घातक हुने बताउँदै गुटबन्दी नगरी पार्टीको विधि र विधान अनुसार अगाडि बढ्नु आवश्यक रहेको कुरामा विशेष जोड दिनुभयो । 

वर्तमान सरकारले नेपालको इतिहासमा नभएका कामहरू गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पार्टीका नेता कार्यकर्तालाई जनताको घर घरमा पुगेर सरकारका राम्रा कामको प्रचार गर्न निर्देशन दिनुभयो । 

उहाँले पार्टीलाई बलियो र सुदृढ बनाउन नै माओवादी केन्द्रले हुलाकी राजमार्गमा तराई मधेस जनजागरण अभियान लगायत दुई वटा अभियान सञ्चालन गर्न लागेको जनाउँदै अभियान सफल पार्न सबैले एकजुट भएर लाग्न आह्वान गर्नुभयो । 

सो भेटघाटमा कार्यकर्ताहरूको तर्फबाट नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीका अध्यक्ष रतन शाही, जनप्रतिनिधिहरूको तर्फबाट नेपालगन्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कहार र उद्योगी व्यवसायीको तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी ओलीले विचार राख्नु भएको थियो । 

नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाटमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी, संविधानसभाका सदस्य पट्टु थारु, माओवादीका नेताहरू आइपी खरेल, नरेन्द्र न्यौपाने, अकलबहादुर बम, चन्द्रकान्त, नवीन शर्मा र दीपेन्द्र विष्ट लगायतको उपस्थिति थियो ।  


प्रतिक्रिया दिनुहोस !