१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छः सोविता गौतम



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताइन्। उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन्।

उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन्? भनि प्रश्नसमेत गरिन्।

प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भूमिका हुन नसकेको उनको भनाइ थियो। उनले यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अफ्ठ्यारो परेको उल्लेख गरिन्।

उनले भनिन्, ‘पटक पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु। भेट्न समय दिनुहुन्न। सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ। सांसदलाई भेट्न पनि मन्त्रीहरुले आनाकानी गर्ने। मन्त्रीहरुले भेट्छन् चाहिँ कसलाई? धेरै वटा मन्त्रीहरुलाई भेट्न विषयवस्तु लिएर गयो, जनताहरुका मुद्दाहरु लिएर गयो,भेट्न समय पाइँदैन। प्रत्यक्ष निर्वाचित भएका सांसदहरुलाई भेट्नका लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरु? राजीनामा दिए हुन्छ।’


प्रतिक्रिया दिनुहोस !