१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

भिजिट भिसामा सेटिङ मिलाएर फरार भएका ६ अधिकृत धरौटी बुझाएर रिहा, एक अधिकृत अझै फरार



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएको भेटिएपछि मुद्दा चलाइएका ६ जना अध्यागमन अधिकृत धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले माघ २३ गते थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आज त्यही मुद्दामा फरार रहेका अधिकृतमध्ये ६ जना जनही ७ लाख रुपैयाँ धरौटी बुझाउँदै रिहा भएका हुन्।

यो प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो थिए। जसमध्ये ६ जनाले फागुन ९ देखि १६ सम्म एक एकजना गर्दै अदालतमा धरौटी बुझाएर रिहा भएका हुन्। फरार ७ अध्यागमन अधिकृतमध्ये ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित भएका छैनन्। पक्राउपुर्जी जारी भए पनि किरियामा बसेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन। तर किरिया सकेर भागेका उनी अदालतमा उपस्थित भएका छैनन्।

यो मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अध्यागमन अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतले त्यसबेला गीता शाहसँग ५ लाख रुपैयाँ, रविन अर्याल र पदम लामासँग १ १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७ ७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो। भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको थियो। यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको थियो। गत माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !