१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो ट्वान्टी–२० शृंखलाको उपाधि



घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै शृंखलाको उपाधि चुमेको हो ।

नेदरल्यान्ड्सलाई जितका निम्ति अन्तिम दुई ओभरमा १९ रन आवश्यक थियो । १९औँ ओभरको पहिलो बलमा कुशल मल्लले साइब्रान्ड एन्गलब्रेटलाई सन्दीप जोराबाट क्याच गराउँदै खेलमा फर्कने नेपालको आस जगाएका थिए । उनले दोस्रो बलमा छक्का खाए । कुशलले तेस्रो बलमा एक रन मात्र दिए । चौथो बलमा पुनः तेजा निदामनुरुलाई कुशलले सन्दीप जोराबाट नै क्याच गराएपछि नेदरल्यान्ड्सलाई जितका निम्ति आठ बलमा १२ रन आवश्यक थियो । पाँचौँ बलमा कुशलले पुनः एक रन मात्र खर्चिए । छैटौँ बलमा टिम भान डेर गुग्टेनले चौका प्रहार गरेपछि डच टोलीलाई जितका निम्ति अन्तिम ओभरमा सात रन आवश्यक थियो ।

अन्तिम ओभर बलिङका लागि नेपालका कप्तान रोहितकुमार पौडेलले करण केसीलाई जिम्मेवारी सुम्पिए । करणले पहिलो बलमा एक रन मात्र दिए । दोस्रो बल गुग्टेनले चौका प्रहार गरेपछि नेदरल्यान्ड्स जितनजिक पुगेको थियो । तेस्रो बलमा पनि गुग्टेनले चौका प्रहार गरेपछि नेदरल्यान्ड्सले घरेलु समर्थकमाझ शृंखलाको उपाधि जित्यो ।

नेदरल्यान्ड्सको जितमा अविजित रहेका गुग्टेनले पाँच बलमा दुई चौका र दुई छक्कासहित २१ रन बनाए । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका लेभिटले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

लेभिटले पहिलो विकेटका निम्ति अर्का ओपनर म्याक्स ओ‘डोडसँग ८.१ ओभरमा ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ओ‘डाडले २३ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए ।

नवौँ ओभरमा कुशल मल्लले दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा आएको थियो । कुशलले सो ओभरको पहिलो बलमा ओ‘डाड र पाँचौँमा लेभिटलाई पभेलियन फर्काएका थिए ।

८४–२ को स्थितिबाट विक्रमजित सिंह र साइब्रान्ड एन्गलब्रेटले तेस्रो विकेटका निम्ति ५० रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ अघि बढाएका थिए । 

नेदरल्यान्ड्सका विक्रमजितले व्यक्तिगत २० रनमा जीवनदान पाएका थिए । कुशल मल्लले बलिङ गरेको १०.५ ओभरमा विक्रमजितको क्याच कुशल भुर्तेलले ‘मिस’ गरेका थिए । उनले त्यसको राम्रा सदुपयोग भने गर्न सकेनन् ।

विक्रमजितले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । १८.१ ओभरमा आउट भएका एन्गलब्रेटले २९ बलमा चार चौका र तीन छक्कासहित ४८ रन जोडे ।

कुशल मल्लले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । तीन ओभर बलिङ गरेका कुशलले ३३ रन खर्चिए । अभिनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

नेपालबाट ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । खेलको सुरुआतमै आसिफले जीवनदान पाएका थिए । नेदरल्यान्ड्सका भिभियन किंग्माले गरेको २.१ ओभरमा दुई रनमा खेलिरहेका आसिफको क्याच माइकल लेभिटले मिस गरेका थिए ।

२३–१ को अवस्थाबाट आसिफले कप्तान रोहितसँग ३५ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । ९.२ ओभरमा आउट हुनुअघि रोहितले १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए ।

यसपछि ८२–२ को अवस्थाबाट आसिफले तेस्रो विकेटका निम्ति गुल्सन झासँग ४३ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए । अर्धशतक बनाउन तीन रनले चुकेका आसिफले ३७ बलमा एक चौका र तीन छक्का प्रहार गरे । गुल्सनले टिमको खातामा ३४ रन बनाए । १८.१ ओभरका फ्रेड क्लासेनबाट आउट हुनुअघि गुल्सनले ३५ बलमा तीन छक्का प्रहार गरे ।

खेलको १७औँ ओभर समाप्त हुँदा नेपाल १५८–४ को स्थितिमा थियो । तर, यसपछि १८औँ र १९औँ ओभरमा दुई/दुई विकेट गुमाएपछि घरेलु टिमविरुद्ध नेदरल्यान्ड्सले दबाब बनाएको थियो ।

नेदरल्यान्ड्सका माइकल लेभिट, साइब्रान्ड एन्गलब्रेट, फ्रेड क्लासेन र टिम भान डेर गुग्टेनले समान दुई विकेट लिए ।

यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप आयोजित शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !