१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नाउपामा रेशम चौधरी र रञ्जिता श्रेष्ठको समूहको अन्तरविरोध थप चर्कियो



कैलाली । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू दुई कित्तामा विभाजित भएका छन् । कैलालीको टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नेकपा एमाले माओवादी नेतृत्वको नयाँ सत्ता समीकरणको पक्ष लिने निर्णय गरेको थियो । तर, बैठकको निर्णय कार्यान्वयनमा नआउँदै अन्य संस्थापक सदस्यहरुले त्यसमा फरक मत जाहेर गरेका छन् । पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रमा भएको नयाँ सत्ता समीकरणलाई साथ दिने र त्यही समीकरणअनुसार प्रदेशहरूका सरकार तयार गर्ने निर्णय गरेको थियो ।

बैठकमा २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जना उपस्थित भएका थिए । बैठक सकिएपछि पार्टी प्रवक्ता रहेका संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको तर काठमाडौंमा छलफल गरेपछि मात्रै अगाडि बढ्ने बताएका थिए । उनले तत्काल प्रदेश सरकार ढालिहाल्ने पक्षमा आफूहरु नरहेकोसमेत बताएका थिए ।

तर, पार्टीका अन्य संस्थापक तथा नेताहरूले आजको बैठकको निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताएका छन् । बैठकमै सहभागी सुदूरपश्चिमका विनाविभागीय मन्त्रीसमेत रहेका संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर चौधरीले उक्त निर्णय मान्य नहुने भन्दै फरक मत दर्ज गरेका छन् । अहिले नाउपाका ७ सांसदमध्ये बहुमत काङ्ग्रेस नेतृत्वकै सरकारमा सहभागी हुन चाहन्छन् । नाउपाका ७ सांसदमध्ये ५ जना मन्त्री भइसकेका छन् । उनी अर्को गठबन्धनमा त्यति संख्यामा मन्त्री हुने सम्भावना नरहेको बताउँछन् ।

चौधरीमात्र होइन पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले पनि पार्टीको टीकापुरमा बसेको बैठकको निर्णयमा विरोध जनाएका छन् । उनले टीकापुर बैठकको औचित्यसमेत नभएको जिकिर गरे । पार्टीका संरक्षक रेशमलाल चौधरीसहित बहुसङ्ख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थितिविना भएको बैठक र निर्णयको औचित्य नभएको उनको भनाइ थियो । संस्थापक केन्द्रीय सदस्य पूर्णबहादुर बुढाले पनि अध्यक्षले अल्पमतको बलमा निर्णय गरेको भन्दै उक्त निर्णयको कुनै अर्थ नभएको टिप्पणी गरे ।

पार्टी निकट स्रोतका अनुसार जापानमा रहेका पार्टी संरक्षक चौधरीले यस्ता राजनीतिक निर्णय धेरै हुने गरेको बताउँदै सांसदहरूलाई विचलित नहुन आग्रह गरेका थिए । उनले आफू फर्केपछि ठोस निर्णय लिने आफू पक्षीय नेताहरुलाई आश्वस्त पारेको बताइएको छ । पार्टीभित्र संरक्षक रेशम र अध्यक्ष रञ्जिताको विवादको कारण सुदूरपश्चिम प्रदेशका कांग्रेस नेतृत्वकै सरकार जारी रहन्छ या नयाँ सरकार बन्छ भन्ने विषय अझै अनिश्चित छ ।

सुदूरपश्चिममा मन्त्री पठाउनेदेखि केन्द्रमा सत्ता पक्षमा बस्ने कि विपक्षमा बस्नेसम्म दुबैबीच विवाद भएको थियो । अहिले केन्द्रको विवाद मत्थर भए पनि प्रदेशमा चर्किएको छ । रेशम सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई जोगाएर अगाडि बढ्न चाहन्छन् भने रञ्जिता एमाले(माओवादीसहितको नयाँ गठबन्धनसँग जोडिएर नयाँ सरकार बनाउन चाहन्छिन् । जसअनुसार रञ्जिताले नयाँ गठबन्धनसँग सुदूरपश्चिममा मुख्यमन्त्री मागिरहेकी छन् ।


प्रतिक्रिया दिनुहोस !