२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

डेढ अर्ब ठगेर ढोरपाटनका मेयर एक वर्षदेखि श्रीमतीसहित फरार, प्रहरीले पाएन सुइँको



काठमाडौं । बचतकर्ताको झण्डै डेढ अर्ब रुपैयाँ ठगी गरेर बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख लामो समयदेखि फरार छन्। प्रहरीले मेयर देवकुमार नेपाली र उनकी पत्नी छेला नेपालीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ ९१० माघ २०८०० मा रेड नोटिससमेत जारी गराइसकेको छ।

तर फरार भएको एक वर्ष हुन लाग्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन। रेड नोटिस जारी गरेकै महिनौँ बितिसक्दा समेत उनीहरू कहाँ छन् भन्ने सुइँको प्रहरीले पाउन सकेको छैन। मेयर नेपालीका दम्पती विदेश भागेको आशंकामा प्रहरीले रेड नोटिस जारी गराएको थियो।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपालीसहितका प्रतिवादीले आफूहरूलाई ठगी गरेको भन्दै १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

उनीहरूविरुद्ध २०८० जेठ २३ गते पहिलो पटक मुद्दा दर्ता भएको थियो। त्यसपछि पनि प्रहरीले पूरक जाहेरी पनि दर्ता गराइसकेको छ। अहिलेसम्म उनीहरूविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको बाग्लुङ प्रहरीले जनाएको छ।

१३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर भएको छ। यीमध्ये ६ जना पक्राउ परेका थिए। अध्यक्ष नेपालीका दम्पतीसहित ७ जना भने फरार छन्। पक्राउ पर्नेहरूमा इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढा मगर छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ।


प्रतिक्रिया दिनुहोस !